राजकुमार भट्टराई
खोटाङ, माघ २९ गते । जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोध गरिरहेको महभिर फोड्ने काम सुरु भएको छ । महभिरमा ठूलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन ।
सो चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो । मन्त्रालयको निवर्तमान मन्त्री भुपेन्द्र राईका अनुसार मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२–८३ मा २ करोड बजेट विनियोजन भएको थियो ।
विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट श्री कमला कष्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले १ करोड ७ लाख ७७ हजार ८४७ रुपियाँमा निर्माण सम्झौता गरेको पूर्वाधार कार्यालय खोटाङका लेखा प्रमुख सिताराम राउतले बताउनुभयो ।
दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईको जिल्ला आवत–जावत गर्ने सबैभन्दा छोटो दुरीको सडक हो । तर, निर्माणाधीन उक्त सडक जोड्नका लागि राजापानीस्थित महभिर बाधक बनेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीको महभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डको रेग्मीटारबाट महभिरसम्म ट्रयाक खोलिएको छ । महभिरमा ठूलो चट्टान भएकाले विकल्पको रुपमा राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारको सडक प्रयोगहुँदै आएको छ । सिधा सडक जोड्न महभिर बाधक भएकाले हाल उक्त सडक खासै प्रयोग भइरहेको छैन् ।
दिक्तेल–महुरे–बुइपा–राजापानी रेग्मीटार सडकभन्दा खानीडाँडा–आहाले–रेग्मीटार सडक करिब २५ किलोमिटर छोटो रहेको छ । जसकारण जिल्ला सदरमुकामबाट तराई जोड्ने सबैभन्दा छोटो दुरीको सडकको ट्रयाक सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको मन्त्री राईले बताउनुभयो । सोहीअनुसार ठेक्का प्रक्रिया पूरा भएर सडक खन्ने काम पनि सुरु भइसकेको छ ।
महभिरमा रहेको चट्टान फोडेर खनिसकेको पुरानो बाटो पनि सफा गर्नेगरी ठेक्का लागेको भौतिक पूर्वाधार कार्यालयका लेखा प्रमुख राउतले बताउनुभयो । यही वर्षबाट सबैभन्दा छोटो दुरीको सडक सुरुवात हुने उहाँको भनाइ छ ।
दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा तराई यात्रा गर्न, जिल्लामा खाद्यान्न, हार्डवयेर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुनेछ ।
बाह्रै महिना सडक सञ्चालनका लागि अवरोध गर्ने दिखुवा खोलामा मोटरेबल पुल निर्माणको काम पनि भइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल निर्माणका लागि गत जेठमा मन्त्री राईले पुलको शिलान्यास गर्नुभएको थियो । हाल पुल निर्माणको काम भइरहेको छ ।
प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय खोटाङको साझेदारीमा दिखुवा खोलामा (ट्रष्ट ब्रिज) मोटरेबल पुल बन्न लागेको हो ।