बबई समाचारदाता
बबई (बर्दिया), माघ २९ गते । बर्दिया जिल्लामा निर्वाचनलक्षित योजना अन्तर्गत संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने मिति नजिकिँदै गर्दा यस जिल्लामा पनि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको हो । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा गस्ती सुरु गरिएको हो । निर्वाचनलक्षित सुरक्षा योजना अन्तर्गत बर्दियामा दुई हजार २२५ जना निर्वाचन प्रहरी, एक हजार ८२२ जना नेपाल प्रहरी, सात सय ५५ जना सशस्त्र प्रहरी र ३५० जना नेपाली सेनाद्वारा निर्वाचनलक्षित सुरक्षा योजना अन्तर्गत संयुक्त गस्ती सुरु गरिएको हो । यहाँको गुलरिया, मधुवन नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिका नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएका स्थानीय तह हुन् । जिल्ला सुरक्षा समितिको बैठकले यसअघि नै सीमावर्ती गाउँसहित बर्दियाका विभिन्न स्थानका ३९ वटा मतदान स्थललाई संवेदनशील मतदान स्थलका रूपमा राखेर त्यस क्षेत्रमा पनि विशेष किसिमको सुरक्षा गस्ती बढाएको छ ।
बर्दिया जिल्लाका विभिन्न बजारमा र ग्रामीण भेगमा संयुक्त गस्ती पुग्न सुरु गरेपछि निर्वाचनको वातावरण बन्दै गएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले संयुक्त सुरक्षा गस्ती अहिले बर्दियाको गाउँ गाउँमा पुग्न सुरु भएको बताउनुभयो । तीनै तहका सुरक्षाकर्मी र निर्वाचन प्रहरीसहित सुरक्षा गस्तीसमेत बर्दियामा तीव्र बनाइएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न स्थानमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको बताउनुभयो ।
गुलरिया नगरपालिका–१० प्रयागपुरका स्थानीय गोविन्द पाठकले सुरक्षा गस्ती देखिएपछि निर्वाचन नजिकिएको आभास भएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बर्दियाले विगतका निर्वाचनमा भएको अवस्था र मतदान केन्द्रलाई हेरेर यस पटकको सुरक्षा रणनीति बनाएको छ । बर्दियामा अति संवेदनशील मतदान केन्द्र नभए पनि संवेदनशील मतदान केन्द्रको सुरक्षाका लागि सुरक्षा समितिले विशेष किसिमको सुरक्षा रणनीति बनाएको प्रशासनले जानकारी दिएको छ । बर्दियाको क्षेत्र नम्बर १ मा ७५ मतदान स्थल र १९९ मतदान केन्द्र रहेका छन् भने क्षेत्र नं. २ मा १८८ मतदान स्थल गरी ३८७ मतदान स्थल रहेका छन् ।