• २८ माघ २०८२, बुधबार

थापाको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत

blog

राष्ट्रपति रामचन्द्र पौडेलको समवेदना सन्देश वरिष्ठ अभिनेता सुनील थापाको परिवारलाई हस्तान्तरण गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल ।

काठमाडौँ, माघ २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अभिनेता सुनील थापाको निधनले आफू दुःखी भएको बताउँदै चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कलेसमेत सधैँ सम्झिरहने थापाको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताउनुभएको छ । 

“अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौ दर्शकको मन जित्न सफल हुनुहुन्थ्यो, उहाँको अभिनयले साङ्गीतिक, क्रान्तिकारी तथा सामाजिक विषयका चलचित्रमा गहिरो प्रभाव पारेको छ”, राष्ट्रपति पौडेलले थापाका परिवारजनलाई बुधबार पठाउनुभएको समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ । 

उहाँले थापाको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । 

राष्ट्रपति पौडेलले स्वर्गीय थापाको आत्माको चीरशान्तिको कामनासहित उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । 

सो समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले थापाका परिवारलाई निवासमा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।