सन्तोष सुवेदी
कास्की, माघ २८ गते ।
स्वागतम ! स्वागतम !!
सहाराको स्वागतम् आहा रारा गोल्ड कपमा ।।
खेल नै जीवन हो, जीवन नै जगत्लाई,
सहारा नै खेलको बुझौँ अभियानलाई ।।
आजभन्दा २४ वर्षपहिले रेकर्ड भएको यो गीत हरेक वर्ष आहा रारा पोखरा गोल्डकपको बेलामा पोखरा रङ्गशालामा गुन्जने गर्दछ । मङ्गलबारदेखि पोखरा रङ्गशालामा २५ औँ संस्करणको पोखराको प्रतिष्ठित आहा रारा पोखरा गोल्डकप सुरु भएको छ । गोल्डकप सुरु भएसँगै खेल र सहारालाई चिनाउने उक्त गीतले रङ्गशाला सङ्गीतमय बनाएको छ ।
प्रकृति, सांस्कृतिक, पर्यटन र खेलकुदको संयोजन गरी बनाइएको उक्त गीत हरेक वर्ष फुटबल प्रतियोगितामा बज्ने गर्छ । सहाराले आफ्नो प्रवर्धन गर्न यो गीत रेकर्ड गराएको थियो । वरिष्ठ सञ्चारकर्मी/गीतकार आरजु विष्ट सल्यानीले लेखेको उक्त स्वागत गीतमा सङ्गीतकार तथा स्वर विनोद बानियाँ र एजुदा थापाको रहेको छ ।
लोकरसमा तयार पारिएको उक्त गीतले पोखरालाई गीतमार्फत चित्रण गरिएको गीतकार आरजु विष्ट सल्यानी बताउनुहुन्छ । २०५८ सालमा बनाएको उक्त गीत अहिलेसम्म तीन पटक रेकर्ड भइसकेको छ । “गीतमा थप क्वालिटी दिनका लागि समय अनुसार परिवर्तन गर्दै रेकर्ड गरियो ।” तत्कालीन सहाराका अध्यक्ष वसन्त थकालीसँगको छलफलमा फुटबलसम्बन्धी गीत नभएकाले सोही समयमा पोखरामै रेकर्ड गराएको सल्यानी सम्झनुहुन्छ । “पहिलो पटक रेकर्ड गर्दा सङ्गीतकार तथा गायक विनोद बानियाँ र ज्योति गुरुङको आवाज रहेको थियो । त्यतिबेला सहाराको स्वागतमा भन्ने मात्र रहेको थियो । पहिला रारा गोल्डकप मात्र थियो । गीत निकालेको केही वर्षपछि पुनः री एरेन्ज गरेर दोस्रो पटक रेकर्ड गरायौँ । पछि आहा थपिएपछि पुनः अर्को पटक रेकर्ड गरियो,” उहाँले भन्नुभयो । उहाँका अनुसार पछिल्लो पटक गीत रेकर्ड गर्दा सहारा क्लबद्वारा सञ्चालित एकेडेमीलाई पनि जोडेर, ‘दोविल्ला एकेडेमी असहाय अनाथलाई’ भन्ने लाइन गीतमा थपिएको छ ।
यस गीतका सङ्गीतकार एवं गायक विनोद बानियाँले अहिले यही गीत बज्नेबित्तिकै फुटबल सुरु भए छ है भन्ने झल्को दिन्छ भन्नुभयो । बानियाँले धेरै खेलकुदका गीत गाउनुभएको छ । त्यसमा पनि बढी रुचाइएको यो गीतले खेलकुद गीत पनि हिट हुँदो रहेछ है भन्ने आभास दिलाएको उहाँ बताउनुहुन्छ । बानियाँले सङ्गीत गरेको ‘लौ आयो भलिबल’ पनि हिट खेलकुद गीत हो ।