• ३० वैशाख २०८१, आइतबार

ग्रेटवालको भव्यता

blog

 मनोज पौडेल 

ग्रेटवालबारे सबैलाई थाहा छ । ग्रेटवाल चीनको मात्र नभई संसारको सबैभन्दा लामो पर्खाल हो । यो संसारको सातौँ आश्चर्यमा पर्दछ । यसलाई अङ्ग्रेजीमा ग्रेटवाल अफ चाइना भनिन्छ । चीनलाई विश्वसामु चिनाउने 

सबैभन्दा चर्चित पर्यटकीय आकर्षण हो यो । त्यसैकारण ग्रेटवाल हेर्न दिनहुँ हजारौँ चिनियाँ र विदेशी पर्यटक पुग्छन् । 

चीनको राजधानी बेइजिङबाट झन्डै ५० किलोमिटर उत्तर पश्चिम यात्रा गर्दै त्यहाँ दुई घण्टामा पुगिन्छ । बिहान ८ बजेदेखि अवलोकनका लागि खुल्ने ग्रेटवाल हेर्न साँझसम्मै उत्तिकै भीड हुन्छ । भीड घटेको भान हुँदैनन् । 

ग्रेटवाल चढ्न कहीँ अति सजिलो छ । कहीँ ठाडो भीर पर्छ । बालबालिका र वृद्धवृद्धाहरू फलामे बार समाउँदै उक्लन्छन् । वर्षको एक करोडभन्दा बढी पर्यटक ग्रेटवाल हेर्न पुग्छन् । 

पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको ग्रेटवाल लियाउनिङ प्रान्तको यालु नदीको किनाराबाट सुरु भएर पश्चिममा गान्सु प्रान्तको जियाउग्वानमा पुगेर टुङ्गिएको स्वतन्त्र विश्व शब्दकोष विकिपिडियामा उल्लेख छ । जियाउग्वानमा यो पर्खाल प्रसिद्ध रेशम मार्गसम्म पुगेको छ । उक्त पर्खालको बीचबीचमा भत्केको भाग घटाउने हो भने हाल यसको लम्बाइ छ हजार ३५० किलोमिटर मात्र हुन आउँछ । 

चीनको एकीकरण गर्ने क्विन वंशका पहिला सम्राट क्विन शि ह्वाङले सुरक्षा पर्खालको विभिन्न खण्डलाई जोड्न र विस्तार गर्नलाई तीन लाख कामदारलाई दस वर्षसम्म काममा लगाएका थिए । त्यसपछि विभिन्न राजवंशको कार्यकालमा पर्खाल बढाउने क्रम जारी राखियो । सबभन्दा बढी निर्माण तथा पुनर्निर्माण भने मिङ राजवंशको कार्यकाल सन् १३६८–१६४४ मा गरियो । 

हाल पर्यटकका लागि खुला गरिएको पर्खाल मिङ राज्यकालमा निर्माण गरिएको पर्खाल हो । संसारको सबैभन्दा लामो यो पर्खाल चीनको सान्सी प्रान्तबाट पूर्व तथा पश्चिमतर्फको पर्खालको बनावट, उचाइ र चौडाइमा भिन्नता देखिन्छ । सान्सी प्रान्तबाट पश्चिमतर्फको पर्खाल माटोले बनाइएको छ । जसको सरदर उचाइ ५.३ मिटर छ । पूर्वी भागको पर्खाल भने पकाइएका इँटा तथा आयताकार ढुङ्गा जोडेर बनाइएको छ । जसको सरदर उचाइ ७.५ मिटर छ । यस पर्खालमाथि एकैचोटि पाँचवटा घोडा दौडाउन मिल्ने जतिको चौडाइ छ 

युनेस्कोद्वारा सन् १९८७ मा विश्व सम्पदामा सूचीकृत ग्रेटवाल ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना नै हो । इसापूर्व पाँचौँ शताब्दीदेखि निर्माण सुरु भएको ग्रेटवाल माटो, इँटा, पत्थर र धातु प्रयोग गरेर बनाइएको छ । उत्तरी क्षेत्रका शक्तिशाली देशबाट सुरक्षा होस् भनी चीनका विभिन्न समयका शासकले ग्रेटवालको निर्माण गराएका थिए । 

इसापूर्व पाँचौँ शताब्दीदेखि इस्वी संवत्को १६औँ शताब्दीसम्म चीनका विभिन्न शासकले ग्रेटवाल निर्माण गरिएको इतिहास रहेको छ । चीन पुग्ने नेपाली पनि ग्रेटवाल हेर्न निक्कै लालायित हुने गर्छन् । २०७२ सालको भूकम्पपछि नेपाल विकासमा माथि उठ्न सक्छ भन्ने सन्देश बोकेको नेपाली म्युजिक भिडियोको केही छायाङ्कन ग्रेटवालमा गरिएको थियो । 

पर्खाल निर्माण कहिले सुरु भयो भन्नेमा विभिन्न तर्क छन् । कहीँ इसापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि सबैभन्दा पहिला चु राज्यका राजा चङले ग्रेटवाल बनाउन लगाएका थिए भन्ने उल्लेख छ । उनले सुरु गरेसँगै विभिन्न कालखण्डका राजाले यसको लम्बाइ बढाउँदै लगे । थप्दै, जोड्दै लम्बाइ बढाउँदै लगेर आज पर्खालको संरचना यस्तो आइपुगेको छ । कहीँ ग्रेटवाल निर्माणको सुरुवात इसापूर्व तेस्रो शताब्दीमा भएको शोधकर्ताले उल्लेख गरेका छन् । जे भए पनि यससँग जोडिएका थुप्रै पर्खाल त्योभन्दा अघि निर्माण भएको पाइएको छ । 

पर्खाल निर्माण गर्न सैनिक, कैदीदेखि सर्वसाधारणको प्रयोग भएको थियो । यो पर्खाल निर्माणका क्रममा दुई लाख जनाले ज्यान गुमाएको बताउने गरिन्छ । केही रणनीतिक क्षेत्रमा उच्च सुरक्षाका लागि पर्खाललाई दोहोरो बनाइएको थियो । पर्खालमा निश्चित दूरीमा अग्ला गार्ड टावर पनि बनाइएका छन् ।

ग्रेटवालको लम्बाइ बारे आधिकारिक विवरण पाइँदैन । विकिपिडियाले १२ हजार सात सय किलोमिटर लामो भनेर उल्लेख गरेको छ । ट्राभल चाइना गाइडका अनुसार यसको लम्बाइ २१ हजार १९६ किलोमिटर रहेको जनाएको छ । विभिन्न भागमा फैलिएको ग्रेटवालमध्ये सबैभन्दा लामो खण्ड मिङ ग्रेटवाल हो । यसको कुल लम्बाइ आठ हजार ८५१ किलोमिटर छ । 

चीन सरकारले ग्रेटवालबाट मनग्गे आम्दानी गरिरहेको छ भने ग्रेटवालको संरक्षण पनि उत्तिकै ध्यान दिएको छ । 

क्विन शि हुवाङको मृत्यु र क्विन साम्राज्यको अन्त्यपछि ग्रेट वाल जीर्ण बन्न पुग्यो । अझ हान वंशको अन्त्यपछि विभिन्न शक्तिशाली जनजातिले उत्तरी चीनमा नियन्त्रण बनाए । यसमध्ये उत्तरी वेइ वंश सबैभन्दा शक्तिशाली थियो । यहीबेला पर्खालको पुनः निर्माण र जीर्णोद्धार सुरु गरिएको थियो । बेइकी राज्यले यो पर्खालको साढे चौध सय किलोमिटर भाग जीर्णोद्धार र निर्माण गरेको थियो । त्यस्तै सुई वंशले पनि ग्रेटवाल थप निर्माण ग-यो ।

ग्रेटवालको यति लामो इतिहास भए पनि हाल सुरक्षित रहेको धेरैजसो पर्खाल भने मिङ वंशको बेला निर्माण भएको हो । जुन समयमा मिङ वाल लियाओलिङ प्रान्तदेखि गान्सु प्रान्तसम्म फैलिएको थियो । १८औँ र २०औँ शताब्दीका बीचमा ग्रेटवाल चीनको सबैभन्दा चर्चित प्रतीक बन्यो । यो पर्खाल अन्तरिक्षबाट देखिने एक मात्र मानव निर्मित संरचना भएको पनि दाबी छ । 

सैनिकलाई सुरक्षा दिन पर्खाल एक मिटर जति अग्लो ढुङ्गा जोडेर उठाइएको छ । पर्खालमा शत्रु पक्षलाई हेर्न स–साना प्वाल पनि बनाइएका छन् । प्रत्येक तीन सयदेखि पाँच सय मिटरको फरकमा पर्खालमाथि छानो लगाइएका स–साना कोठा पनि छन् । ती कोठा युद्धको समयमा सुरक्षित रहन, युद्ध रणनीति तयार पार्न र शत्रु पक्षलाई निगरानी गर्नका लागि बनाइएको बताइन्छ ।

ग्रेटवाल मुनिबाट वारिपारि जाने उद्देश्यले मुख्यमुख्य ठाउँमा प्रवेशद्वार बनाइएको छ । ग्रेटवालको पूर्वी भागबाट चीनको राजधानी बेइजिङ जान तत्कालीन समयमा बनाइएको जुयोङग्वान प्रवेशद्वार धार्मिक तथा ऐतिहासिक दृष्टिले  महत्त्वपूर्ण  र कलात्मक छ । सन् १३४५ मा बनाइएको यो प्रवेशद्वार बेइजिङबाट ५० किलोमिटर उत्तर पश्चिममा पर्दछ ।

यस प्रवेशद्वारको माथि सेतो मार्बलले बनाइएको प्यागोडा शैलीको बरण्डा छ । त्यस बरण्डामा प्रवेश गर्ने अति कलात्मक छ पाटे ढोका बनाइएका छन् । ढोकामा स्वर्गका राजाका चारवटा चम्किला आकृति बनाइएको छ । त्यही ढोकाको खापामा बुद्धको आकृति पनि खोपिएको छ ।

त्यहाँ विभिन्न भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू लेखिएका छन् । संस्कृत, तिब्बती, मङ्गोलियन, उगुर र चिनियाँ भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू छ सय वर्षअघि खोपिएका हुन् ।