• २६ माघ २०८२, सोमबार

ब्रिटिस गोर्खाका कार्य प्रशंसनीय : राष्ट्रपति पौडेल

blog

काठमाडौं, माघ २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

सो अवसरमा  राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले  विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र  दुवै राष्ट्रहरूले राष्ट्रसंघीय शान्तिसेना मार्फत् विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गर्नुभयो ।  

उहाँले नेपाल र संयुक्त अधिराज्यबिच सदियौँदेखि घनिष्ठ सम्बन्ध रही आएको उल्लेख गर्दै एक महत्वपूर्ण विकास साझेदारसमेत रहेको संयुक्त अधिराज्यले नेपालको विकासमा निरन्तर पुराउँदै आएको सहयोगको लागि म धन्यवाद व्यक्त गर्नुभयो  ।

उहाँले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यहरूको माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप बलियाे बनाएकोमा खुसी व्यक्त गर्दै संयुक्त अधिराज्यमा नेपालीहरूको उपस्थितिले दुई देशबीच रहिआएको जनस्तरको सम्बन्ध थप सुदृढीकरण आफूहरूको ठम्याई रहेको पनि उल्लेख गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

उहाँले पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासाहरू सम्बोधन गर्न कूटनीतिक तहमा छलफल भइरहेको र यो विषय द्विपक्षीय संयन्त्रको माध्यमबाट छिट्टै टुंगोमा पुराउन उचित हुने आफूलाई लागेको बताउनुभयो ।

राष्ट्रपति गोर्खा विग्रेडको  सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकोमा संयुक्त अधिराज्य सरकारलाई धन्यवाद व्यक्त गर्दै प्रतिवेदनउपर सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गर्ने बताउनुभयो ।

सो अवसरमा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेना सँधै अग्रपंक्तिमा रहेको बताउँदै प्रशंसा गर्नुभयो । 

ब्रिटिश गोर्खामा भर्ना भएका युवाहरूलाई तपाईहरू नेपालका छोरा, छोरी हो भनेर आफूले सम्झाउने गरेको बताउँदै बेलायती जनताले गोर्खा नेपालीहरूप्रति  मायाँ र सम्मान प्रकट गर्नेगरेको उल्लेख गर्नुभयो । 

सो अवसरमा नेपालस्थित बेलायती राजदूत रव फेनको पनि उपस्थिति रहेकाे थियाे ।