• २६ माघ २०८२, सोमबार

एकीकृत परिवार योजना सेवा, घुम्ती शिविर सञ्चालन हुने

blog

ज्ञानु पङ्गेनी

मध्यविन्दु, माघ २६ गते । नवलपुरमा निःशुल्क एकीकृत परिवार योजना सेवा सम्बन्धी घुम्ती शिविर सञ्चालन हुने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा मङ्गलबारदेखि शिविर सञ्चालन हुने भएको हो । 

शिविर माघ २७, २८ र २९ गते दिनसम्म सञ्चालन हुने छ । शिविर माघ २७ गते त्रिवेणी सुस्ता स्वास्थ्य चौकी, त्रिवेणी, माघ २८ गते मध्यविन्दु नगर अस्पताल र माघ २९ गते हुप्सेकोट स्वास्थ्य चौकी, हुप्सेकोटमा शिविर आयोजना गरिने छ ।

शिविरमार्फत परिवार योजना सम्बन्धी परामर्श, अस्थायी तथा स्थायी परिवार योजना सेवा, प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी, सन्तानको रहर पुगेकाहरूलाई बन्ध्याकरण सेवा समेत निःशुल्क रूपमा प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालयका परिवार योजना तथा प्रजनन स्वास्थ्य हेर्दै आउनुभएका सागर पराजुलीले जानकारी दिनुभयो । स्थानीय बासिन्दालाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गर्न लागिएको पराजुलीले बताउनुभयो ।

शिविर सञ्चालनको पूर्वसन्ध्यामा कार्यालयले सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया समेत गरेको छ । कार्यक्रममा बोल्दै प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईंले पछिल्लो समय सुरक्षित मातृत्वभन्दा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्या वृद्धि हुँदै गएको कारण अब परिवार नियोजनका बारेमा सजग र सचेत गराउन जरुरी रहेको बताउनुभयो ।

परिवार नियोजन सन्तानको रहर पूरा भएर मात्रै गर्ने भन्ने होइन कि, गर्भपतनको दर कम गर्नका लागि पनि आवश्यक बनेको उहाँको भनाइ छ ।

कार्यालयले जिल्लामा प्रत्येक वर्ष शिविर सञ्चालन गर्दै आएको छ । सन्तानको रहर पुगेका दम्पतिहरूलाई घरदैलोमै स्थायी बन्ध्याकरण सेवा पुर्‍याउने, परिवार नियोजनको महत्त्व बुझाउने र प्रजनन स्वास्थ्यका बारेमा सचेतना अभिवृद्धि गर्ने यस कार्यक्रमको उद्देश्य रहेको कार्यालय प्रमुख चापागाईंले बताउनुभयो ।

सम्बन्धित स्थानका सेवाग्राहीहरूलाई तोकिएको मितिमा उपस्थित भई सेवाको लाभ लिन समेत उहाँले अनुरोध गर्नुभएको छ ।