• २६ माघ २०८२, सोमबार

सुनसरी ४ का मतदाताको माग

सुनसरी खोला तटबन्ध, बाढी नियन्त्रणदेखी जङ्गली जनावर आतङ्क नियन्त्रणसम्म

blog

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काग्रेंसका उम्मेदवार तथा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की मतदाताहरुसँग ।

जयकृष्ण यादव 

इनरुवा, माघ २६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरुले दशकौंदेखि सुनसरी खोलाको बाढी, कोशी बाढी प्रभावित र सडक सञ्जाल, कोशी टप्पुबाट निस्कने जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्न उम्मेदबारहरुसँग माग गरेका छन् । 

नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतलाई भोक्राहा नरसिंह गाउँपालिका ५ टपराका स्थानीयहरुले गाउँमा बोलाएर वर्षेनी हैरान गर्ने र दुख दिने सुनसरी खोला तटबन्ध निर्माण, बाढी नियन्त्रण र युवालाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न के योजना रहेको प्रश्न गर्दै आफूहरुको समस्या सामाधानको ग्यारेटीको माग गरेका छन् । कुसियैतलाई स्थानीयहरुले घोषणा पत्र र प्रतिबद्धता पत्र समेत देखाउन माग गर्दै आफूहरुको माग र मुद्धा समावेश गर्न आग्रह गरेको स्थानीय मतदाता सतार मंसुरीले बताउनुभयो ।

कोशी गाउँपालिका ३ मा नेपाली काग्रेंसका उम्मेदबार ज्ञानेन्द्र बहादुर कार्कीलाई स्थानीयहरुले सुनसरी ४ को पर्यटकिय क्षेत्र समेत रहेको कोशी टप्पुको विकास र पर्यटन आक्रर्षण गर्ने, कोशी तटबन्ध सुरक्षा, बाढी नियन्त्रणदेखी टप्पुको जंगली जनावर आतंक नियन्त्रणसम्ममा ध्यान दिन आग्रह गरेका छन् । 

बराहक्षेत्र नगरपालिका ६ मा राष्टिय स्वतन्त्र पार्टीका उम्मेदबार दिवक साहलाई स्थानीय मतदाताहरुले श्रीलंका टाप्पुमा पुलको व्यवस्था, कोशीको बीचमा रहेको श्रीलंका टाप्पुमा पर्ने बराहक्षेत्रको ६ र ९ नम्बर वडाको केही भाग रहेकाले सबै भागलाई मिलाएर श्रीलंका टाप्पुलाई एउटा सिंगो वडा बनाउन, कम्तिमा कक्षा १२ सम्म पढाई हुने विद्यालयको व्यवस्था र भ्रष्टाचार मुक्त क्षेत्र बनाउन मतदाताहरुले सुझाव दिएका छन् । स्थानीय पवन रौनीयारले उम्मेदबार साहलाई कोशीको समस्या सामाधान गर्न पुलको व्यवस्था, विद्यालय र अस्पतालसम्मको व्यवस्था गर्ने ठोस घोषणा पत्र र प्रतिवद्धता लिएर आउन आग्रह गर्नुभयो ।  

कोशी गाउँपालिका ७ हरिपुरमा जनता समाजवादी पार्टी नेपालका उम्मेदबार सविता यादवलाई स्थानीय मतदाताहरुले सुकुम्बासी समस्या सामाधान गर्ने आधार के रहेको प्रश्न गर्दै आफूहरुको लागपुर्जा पाउने वतावरण, सुलभ स्वास्थ्य र शिक्षा व्यवस्था गर्ने ठोस घोषणा पत्र र प्रतिवद्धता लिएर आउन आग्रह गरेका छन् । स्थानीय मतदाता सुधिर सदाले उम्मेदबार यादवलाई भोट माग्न मात्रै नभई देखिने र गर्न सक्ने काम, योजना र खाका लिएर आउन आग्रह गर्नुभयो । 

एकै खाले शिक्षाको व्यवस्था गर्ने, अकालमा ज्यान कसैको नजाने गरी स्वदेशमै स्वास्थ्य उपचारको ग्यारेण्टी सहितको ठोस घोषणापत्र र प्रतिवद्धता पत्र लिएर आउन आग्रह गर्नुभयो ।  यस क्षेत्रमा तीन नगरपालिका र तीन गाउँपालिकाका ३२ वटा वडाहरु रहेका छन् ।

यहाँबाट जिल्लामै सबै भन्दा बढी ३४ जना उम्मेदबार चुनावी मैदानमा रहेका छन् । यहाँ एक लाख ३७ हजार ३४० मतदाता रहेका छन् । यस क्षेत्रमा ४२ स्थानमा १५० वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।