काठमाडौँ, माघ २६ गते । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रूपमा भण्डार गरी राखेको ७ लाख मूल्य बढीको कपडा बरामद गरेको छ ।
सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएका थिए । तस्कर समूहको ढुङ्गामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ भने ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।