• २५ माघ २०८२, आइतबार

विचार र मर्यादाको सङ्कट

blog

लोकतन्त्रको आत्मा विचार हो । विचार कमजोर हुँदा राजनीति आवाजको प्रतिस्पर्धामा झर्छ र आवाज चर्किंदै जाँदा संवाद हराएर केवल उत्तेजना बाँकी रहन्छ । पछिल्लो समय नेपालको राजनीतिक अभ्यास हेर्दा यही अवस्था प्रस्ट देखिन्छ । नीति, दर्शन र कार्यक्रमको बहस क्रमशः ओझेलमा पर्दै गालीगलौज, अशिष्ट टिप्पणी र व्यक्तिगत आक्रमण सार्वजनिक राजनीतिक संस्कृतिको सामान्य अङ्ग झैँ बन्दै गएको छ । यो प्रवृत्ति लोकतन्त्रको मर्यादाविपरीत मात्र होइन, परिवर्तन खोजिरहेको समाजप्रति गम्भीर गैरजिम्मेवारी पनि हो ।

राजनीति असहमतिको सभ्य अभ्यास हो । फरक मत र फरक दृष्टिकोण लोकतन्त्रका अनिवार्य तत्व हुन् । असहमति व्यक्त गर्ने भाषा र शैली स्वयम् लोकतान्त्रिक हुन सकेन भने त्यो असहमति लोकतन्त्रलाई सुदृढ बनाउने होइन, कमजोर बनाउने कारक बन्छ । आज देखिएको समस्या विचारको अभाव मात्र होइन, राजनीतिक संयमको ह्रास हो । विचारले जवाफ दिन नसक्दा शब्द चर्किन्छन् र शब्द चर्किंदै जाँदा राजनीति सारहीन प्रदर्शनमा रूपान्तरण हुन्छ ।

यसबिच दुई फरक तर एकअर्कासँग जोडिएका प्रवृत्ति देखिएका छन् । एकातिर, केही पुराना दल विचार, सिद्धान्त र इतिहास बोकेको दाबी त गर्छन् तर त्यही इतिहासलाई जडसूत्र झैँ बोकेर वर्तमानसँग संवाद गर्न असमर्थ देखिन्छन् । विगतमा स्थापित अवधारणालाई पुनर्विचार नगरी अन्तिम सत्य ठान्ने जडवादले राजनीति जीवित राख्न सक्दैन । इतिहास प्रेरणाको स्रोत हुन सक्छ तर बदलिँदो सामाजिक यथार्थमा त्यसको पुनव्र्याख्या नगर्ने हो भने त्यो आफैँ बोझ बन्छ ।

समय बदलिएको छ, समाजको चेतना विस्तार भएको छ, नागरिकका अपेक्षा गहिरिएका छन् । राजनीति उही शब्दावली, उही शैली र उही आत्मसन्तुष्टिमा अड्किरह्यो भने, त्यो परिवर्तनको संवाहक होइन, अवरोध बन्छ । विचार र व्यवहार दुवैमा समयानुकूल रूपान्तरण गर्न नसक्ने राजनीतिक शक्ति अन्ततः अप्रासङ्गिक बन्दै जान्छ । प्रकृतिको नियम राजनीतिमा पनि लागु हुन्छ–समयसँग अनूदित हुन नसक्ने शक्ति बिस्तारै इतिहासमा सीमित हुन्छ । त्यो डाइनोसर नियतिबाट बच्न इतिहास मात्र होइन, समकालीन विवेक पनि आवश्यक पर्छ ।

अर्कोतर्फ नयाँ भनिने केही राजनीतिक शक्तिले आक्रामक शैली, तिखो भाषा र असभ्य टिप्पणीलाई नै परिवर्तनको प्रतीक ठानिरहेको देखिन्छ । स्थापित राजनीतिप्रति आक्रोश हुनु स्वाभाविक हो । लामो समयदेखिको असन्तोष, अपेक्षा पूरा नहुँदाको निराशा र संस्थागत कमजोरीप्रतिको प्रतिक्रिया नयाँ शक्तिको उदयसँगै प्रकट हुनु अस्वाभाविक होइन । आक्रोश स्वयम् विचार होइन । आक्रोशले प्रश्न उठाउन सक्छ तर समाधान दिन सक्दैन ।

परिवर्तनको नाममा संयमता त्याग्नु र गालीलाई निर्भीकता ठान्नु लोकतान्त्रिक संस्कृतिको विकास होइन । यथार्थमा भन्नुपर्दा, सबै समस्या औँला ठड्याएर समाधान हुने भए नीति, योजना र संस्थाको आवश्यकता नै रहने थिएन । सामाजिक सञ्जालमा लोकप्रिय हुने टिप्पणी र राज्य सञ्चालनमा लागु हुने नीति एउटै हुँदैनन् । आवाज ठुलो हुँदैमा विचार गहिरो हुन्छ भन्ने मान्यता स्वयम् सतही राजनीतिबाट जन्मिएको भ्रम हो ।

पुराना दलको भूमिका अझै महत्वपूर्ण हुन्छ । नयाँ शक्तिको आक्रामकता देखेर पुराना दलले पनि उही भाषा र शैलीको नक्कल गर्न थाले भने, उनीहरू र नयाँ शक्तिबिचको मौलिक भिन्नता समाप्त हुन्छ । विचार, सिद्धान्त र इतिहास बोकेको दाबी औपचारिकतामा सीमित हुन पुग्छ । पुराना दलको वास्तविक शक्ति उनीहरूको अनुभव, संस्थागत स्मृति र लोकतान्त्रिक निरन्तरतामा छ । त्यो शक्ति तब अर्थपूर्ण हुन्छ, जब त्यसले संयमित, परिपक्व र समाधानमुखी राजनीति प्रस्तुत गर्न सक्छ ।

लोकतान्त्रिक राजनीतिमा भाषा केवल अभिव्यक्ति होइन, संस्कार पनि हो । नेताको बोली व्यक्तिगत भावनाको मात्र प्रतिविम्ब होइन, सामाजिक सन्देश हो । भाषा खस्दा राजनीति खस्छ र राजनीति खस्दा लोकतन्त्र कमजोर हुन्छ । आलोचना लोकतन्त्रको प्राण हो तर आलोचनाको स्तरले नै लोकतन्त्रको गुणस्तर निर्धारण गर्छ । आजको समस्या आलोचनाको अभाव होइन, आलोचनाको असभ्य रूप हो । 

परिवर्तन खोजिरहेको नेपाली समाज र अलमलिएको राजनीतिक अभ्यासबिचको दुरी झन् स्पष्ट बन्दै गएको छ । नागरिकले आज सत्ता परिवर्तन मात्र होइन, राजनीतिक व्यवहारमा परिवर्तन चाहेका छन् । रोजगारी, सुशासन, शिक्षा, स्वास्थ्य, आर्थिक अवसर र राष्ट्रिय आत्मसम्मान जस्ता विषय जनताका केन्द्रीय चासो हुन् तर राजनीतिक बहस अझै पनि व्यक्तिकेन्द्रित आरोप–प्रत्यारोपमै सीमित रहँदा जनविश्वास क्षीण हुँदै गएको छ ।

केही पुराना दल अझै पनि विगतको राजनीतिक धङधङीमा अड्किएका छन् । सत्ता आएपछि सबै ठिक हुन्छ भन्ने सोच, प्रतिपक्ष हुँदा सबै गलत देख्ने प्रवृत्ति र आफ्ना कमजोरी स्वीकार गर्न हिच्किचाउने संस्कारले राजनीति आत्मालोचनाविहीन बनेको छ । यही अवस्थाले जनतामा वितृष्णा र निराशा जन्माएको छ, जसको लाभ असन्तुलित र आक्रामक राजनीतिक शैलीले उठाइरहेको छ । 

यस पृष्ठभूमिमा नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टीको भूमिका झन् निर्णायक हुनु आवश्यक छ । लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको कांग्रेसले जडवादको सुरक्षित खोलबाट बाहिर निस्कने प्रयत्न त गरेको छ तर असभ्य आक्रामकताबाट जोगिनु अत्यावश्यक छ । लोकतान्त्रिक समाजवादलाई समसामयिक यथार्थसँग जोड्दै, विचारमा स्पष्टता र व्यवहारमा संयम प्रस्तुत गर्न सक्नु नै कांग्रेसको वास्तविक रूपान्तरण हुने छ । गालीको प्रतिउत्तर गालीले होइन, नीति र समाधानले दिन सक्नु नै उसको ऐतिहासिक जिम्मेवारी हो ।

आजको आवश्यकता स्पष्ट छ । नेपालको राजनीति न जडसूत्रमा सीमित रहन सक्छ, न त चर्को आवाज मै निर्भर रहन सक्छ । राजनीति विचार केन्द्रित, मर्यादित र भविष्य दृष्टिसम्पन्न हुनु पर्छ । व्यक्तिलाई होइन, प्रवृत्तिलाई आलोचना गर्ने संस्कार विकास हुनु पर्छ । सत्ता होइन, सेवा राजनीतिको केन्द्र बन्नु पर्छ । गल्ती स्वीकार्ने, सुधार गर्ने र समयसँग संवाद गर्ने क्षमताबिना कुनै पनि राजनीतिक शक्ति दीर्घकालीन रूपमा प्रासङ्गिक रहन सक्दैन ।

लोकतन्त्र कुनै एक दल वा समूहको सम्पत्ति होइन । यो मुलुकको साझा अभ्यास हो, साझा जिम्मेवारी हो । अशिष्ट प्रतिस्पर्धाले लोकतन्त्रलाई बलियो बनाउँदैन र जडसूत्रले भविष्य निर्माण गर्न सक्दैन । नेपालले आज यस्तो राजनीति खोजिरहेको छ, जहाँ विचार बोलोस्, भाषा संयमित होस् र व्यवहार जिम्मेवार होस् ! अन्ततः, लोकतन्त्र आवाजको होड होइन, विचारको यात्रा हो । यो यात्रामा जो समयसँग हिँड्न सक्दैन, ऊ आफैँ पछि पर्छ–चाहे ऊ पुरानो होस् वा नयाँ । परिवर्तनको चाहना जनतामा छ, अब त्यो चाहनासँग मेल खाने राजनीति निर्माण गर्ने जिम्मेवारी राजनीतिक शक्तिहरूमाथि छ । यही जिम्मेवारी पूरा गर्न सक्नेहरू नै भोलिको नेतृत्व बन्ने छन्, बाँकी इतिहासका पानामा सीमित हुने छन् । यो यथार्थ हो, समय र विचारसँग हिँड्न नसक्ने राजनीति एकदिन आफैँ बिर्सिइने इतिहास बन्छ ।