• २३ माघ २०८२, शुक्रबार

झापामा सिरिन्ज प्रयोग गरी अनौठो ढङ्गले हत्या

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ २३ गते । झापामा एक व्यक्तिको अनौठो ढङ्गले हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर–१०, सत्रविघेमा बिहीबार बेलुका खेम ढकालको हत्या भएको हो। हत्यामा अपनाइएको तरिकाले प्रहरीसमेत आश्चर्यचकित बनेको छ।

कुनै पनि धारिलो हतियार प्रयोग नगरी सिरिन्जको प्रयोग गरेर ढकालको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिरिन्जमा कुनै तरल पदार्थ भरेर ढकालको घाँटीमा घोची शरीरमा प्रवेश गराएको प्रारम्भिक रूपमा देखिएको छ।

यस प्रकार सिरिन्ज प्रयोग गरेर हत्या भएको यो जिल्लाकै पहिलो घटना भएको बताइएको छ। सिरिन्जले घाँटीमा प्रहार गरेपछि घाइते ढकाललाई स्थानीयले तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। सिरिन्जमा भरिएको तरल पदार्थमा कुन तत्व मिसाइएको थियो भन्नेबारे प्रयोगशालामा परीक्षण भइरहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो।

घटनामा संलग्न व्यक्ति सिरहा जिल्ला विष्णुनगर गाउँपालिकाका दिपेशकुमार महतो रहेको खुलेको छ। अभियुक्त महतो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ। अभियुक्त विभिन्न बहानामा ढकालको घरमा समेत पुग्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पत्ता लागेको छ।

पक्राउ परेका महतो बिहीबार बिहानै 'अवकाशप्राप्त शिक्षक आवश्यक परेकाले खोजिदिनुपर्‍यो' भन्दै ढकालको घर पुगेका थिए। प्रवक्ता खड्काका अनुसार ढकालकी छोरी पनि धरानमा एमबिबिएस अध्ययनरत छिन्। 

अभियुक्तले ढकालकी छोरीको फोटो 'एडिट' गरेर सामाजिक सञ्जालमा पठाइदिने गरेपछि ढकाल परिवारले इलाका प्रहरी कार्यालय धरानमा यसअघि नै जाहेरी दिएको समेत अनुसन्धानबाट खुलेको छ ।