• १३ साउन २०८१, आइतबार

संसदीय छानबिन विशेष समितिः सीसीटिभी फुटेजमाथि अध्ययन

blog

फाइल तस्बिर

काठमाडौं, असार ३० गते। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटिभी फुटेजको अध्ययन सुरु गरेको बताएको छ। 

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मुल गेटदेखिका सीसीटिभीका गतिविधिमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजस्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताउनुभयो। उहाँले आज नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखसँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताउनु भयो।

 उहाँले भन्नुभयो, ‘‘सीसीटिभीको बारेमा हेर्ने काम पनि भयो। आज आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गर्ने, त्यसपछि अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखसँग छलफल गर्ने। साथै अर्थ मन्त्रालयका राजस्व सचिव र अर्थ सचिवसँग छलफल गर्ने आज प्राविधिक विषय सीसीटिभीको विषयमा केन्द्रित भएर हामी छलफल गर्ने कार्यक्रम छ। बजेट निर्माण प्रक्रियासँग सम्बन्धित रहेर हामीले अनुसन्धान गरिरहेका छौँ। हामी अहिले अर्थ मन्त्रालयदेखिको मूल ढोकादेखि त्यहाँ जडान गरिएका सीसीटिभीका फुटेजमा नै केन्द्रित छौँ।’

सचिव अर्यालले आज प्राविधिक विषय सीसीटिभीको बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमा भित्र नै टुङ्गोमा पुर्याउने गरी अघि बढेको बताउनुभयो। 

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो।