• २२ माघ २०८२, बिहिबार

सिरहा–२ मा नयाँ अनुहारबिच रोचक प्रतिस्पर्धा

blog

सिराहा –२ का उम्मेदवारहरु । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, माघ २२ गते ।
प्रतिनिधि सभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा प्रमुख राजनीतिक दलहरूले उम्मेदवार फेरेपछि नयाँ अनुहारबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहनुभएकी चित्रलेखा यादवको स्थानमा यस पटक रामचन्द्र यादव उम्मेदवार हुनुभएको छ। जनता समाजवादी पार्टीबाट निर्वाचित पूर्व मन्त्री राजकिशोर यादव सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेपछि सो पार्टीले सिरहा–२ मा सञ्जीव यादवलाई उम्मेदवार बनाएको छ।

यस निर्वाचन क्षेत्रमा कांग्रेसले दुई पटक, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालले एक–एक पटक जित हासिल गरेका छन्। २०७९ को निर्वाचनमा एमाले र जसपा नेपालको गठबन्धनबाट पूर्व सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसको गठबन्धनका साझा उम्मेदवार कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई एक हजार १५० मतले पराजित गर्नुभएको थियो।

यस पटक भने कुनै गठबन्धन बिना कांग्रेसबाट सिरहा जिल्ला सभापति तथा पूर्व संविधानसभा सदस्य रामचन्द्र यादव, एमालेबाट नवीन यादव, नेकपाबाट मुक्ति नारायण सिंह, जनमत पार्टीबाट विनोदकुमार यादव, जसपाबाट सञ्जीव यादव तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिवशङ्कर यादव उम्मेदवार रहनुभएको छ। शिवशङ्कर यादव जेनजी आन्दोलनका सिरहाका तीन अगुवामध्ये एक हुनुहुन्छ।

चुनावी प्रतिस्पर्धालाई लिएर गाउँगाउँमा मतदाता भेटघाट, भेला तथा प्रचारप्रसार तीव्र बनेको छ। कांग्रेसका उम्मेदवार रामचन्द्र यादव र रास्वपाका उम्मेदवार शिवशङ्कर यादवका कार्यक्रममा देखिएको भीडका आधारमा प्रारम्भमा छ पक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिए पनि हाल प्रतिस्पर्धा मुख्यतः कांग्रेस र रास्वपाबिच केन्द्रित हुँदै गएको चर्चा छ।

स्थानीय बिरेन्द्र यादवका अनुसार यस क्षेत्रमा यस पटक परिवर्तनको पक्षमा मतदाताहरूले मन बनाएको देखिन्छ।

राष्ट्रिय राजमार्ग र हुलाकी मार्गसँग जोडिएको यो क्षेत्र उत्तरतर्फ चुरे पर्वत हुँदै उदयपुर र दक्षिणतर्फ भारतीय सीमासँग जोडिएको छ। किसान बाहुल्य यस क्षेत्रमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, भारतीय सीमासँग जोडिएको बरियारपट्टि नाकाको स्तरोन्नति, कृषि बजारीकरण, प्राविधिक शिक्षा, कटानी नियन्त्रण तथा दलित र विपन्न समुदायका लागि सुरक्षित आवासजस्ता विषयहरू स्थानीय मतदाताका प्रमुख मागका रूपमा रहेका छन्।

गोलबजार नगरपालिकाका वडा नम्बर १३, अर्नमा गाउँपालिकाका वडा नम्बर ४ र ५, औरही, बरियारपट्टी, नवराजपुर, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर १, सुखीपुर र धनगढीमाई नगरपालिका समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख १५ हजार ७६० मतदाता रहेका छन्।