कृष्णबहादुर धामी
खलङ्गा (दार्चुला), माघ २२ गते । सानो खोल्साको कल कल बग्ने आवाजसँगै काठ घुमिरहेको छ, न बिजुलीको सहारा छ, न आधुनिक मेसिनको । छ त केवल प्रकृतिको शक्ति र पुस्तौँदेखिको सिप । यो दृश्य हो सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको डिलासैनी गाउँपालिका–२, पारिबाट (सेला) स्थित परम्परागत काठकला ‘सान’ को । सेलाका स्थानीय चक्र चुनारा लामो समयदेखि यस पेसामा संलग्न हुनुहुन्छ । भोकरीगाड (स्थानीय खोल्सा) को पानीको प्रयोग गरी काठ घुमाएर उहाँले हातेसिपबाट पारा (ठेकी), बिन्ना (घैँटो) जस्ता परम्परागत भाँडा बनाउँदै आउनुभएको छ ।
प्रकृतिसँग पूर्ण रूपमा मेल खाने यो पेसा हिजोआज बजार र प्रविधिको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको उहाँले सुनाउनुभयो । उहाँले खोल्साको पानीको प्रयोग गरी काठलाई घुमाएर परम्परागत हातेमेसिनले काठका भाँडा तयार गर्दै आइरहनुभएको छ । बुवा दले चुनाराबाट सिप सिकेर काठकलाको व्यवसायबाट चक्रले घरखर्च र छोराछोरीको पढाइ खर्चसमेत चलाइरहनुभएको छ । उहाँले काठका भाँडाकुँडा बिक्री गरेर एक वर्षमा ४० देखि ५० हजार रुपियाँसम्म आम्दानी हुने गरेको बताउनुभयो । काठ र बजारको अभावले विगतको भन्दा अहिले आम्दानी घटेको उहाँको गुनासो छ ।
यो सिप र ‘सान’ पुस्तान्तरण हुँदै आफूमा आइपुगेको उहाँले बताउनुभयो । हजुरबुवाका पालादेखिको यो पेसालाई उहाँले आत्मसात् गर्दै आउनुभएको छ । विगतमा जस्तो अहिले काठका भाँडाकुँडाको प्रयोग र माग कम रहेको उहाँको भनाइ छ । “पहिले गाउँघरमा काठका भाँडाबिना कामै चल्दैनथ्यो, अहिले प्लास्टिक र स्टिलका भाँडाले बजार ओगट्दा हाम्रो सिप सङ्कटमा परेको छ । पेसा र सिप जोगाउन स्थानीय सरकारले सहयोग गर्नु पर्छ,” उहाँले थप्नुभयो ।
काठको पारो (ठेकी) मा जमाएको दही र मोही स्वादिलो हुने पुर्चौडी नगरपालिका–३ का स्थानीय उजल धामीले बताउनुभयो । ‘सान’ व्यवसायी चुनाराले विगतमा पुर्चौडी नगरपालिकाका विभिन्न स्थानमा काठका भाँडाको व्यापार गर्ने गरेको उहाँले स्मरण गर्नुभयो । समयसँगै उपभोक्तामा भएको बानी परिवर्तनले ‘सान’ पेसाप्रति आकर्षण घट्दै गएको उहाँले बताउनुभयो । “नयाँ पुस्ता काठका भाँडा र पेसातर्फ खासै आकर्षित हुन सकेका छैनन्, उहाँले भन्नुभयो ।” संरक्षण र प्रवर्धनको अभावमा परम्परागत सिप हराउँदै जानु चिन्ताको विषय बनेको स्थानीय बुढापाकाले बताउनुभएको छ । प्रकृतिको काखमै जन्मिएको ‘सान’ पेसाको उचित संरक्षण हुन सके यसप्रति युवा पुस्ताको समेत आकर्षण बढ्न सक्नेमा विश्वास गर्न सकिन्छ ।