• १३ साउन २०८१, आइतबार

कैलालीमा प्लुरोनिमोनियाको महामारी

blog

धनगढी, असार ३२ गते । कैलालीको गोदावरी नगरपालिका–४ स्थित हाटखोली र बन्देगडामा पालिएका बाख्रामा सीसीपीपी (कन्टाजिअस क्याप्रिन प्लुरोनिमोनिया) रोग महामारीको रुपमा देखा परेको छ । 

दुवै क्षेत्रमा पालिएका बाख्रा सो रोगले व्यापक रुपमा प्रभावित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार सीसीपीपी महामारीबाट हालसम्म १०० भन्दा बढी बाख्रा मरिसकेका छन् । 

अझै त्योभन्दा बढी बाख्रा बिरामी रहेको वरिष्ठ पशुविकास अधिकृत डा. हेमराज अवस्थीले जानकारी दिनुभयो । केन्द्रले बिरामी बाख्राको निरन्तर उपचार भइरहेको जानकारी दिएको छ । केही समय अगाडिदेखि नै त्यहाँका बाख्रामा सीसीपीपी रोग देखिएको थियो । बिरामी भएका धेरै बाख्रालाई उपचार गरेर निको पनि पारिएको जनाइएको छ । 

सीसीपीपी रोगले महामारीको रुप लिएपछि केन्द्रले रोगको प्रकोप अन्य स्थानीय तहमा पनि देखा पर्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यसैगरी, रोगको प्रकोप नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रभावित क्षेत्रबाट बाख्राको आवतजावत, किनमेल जस्ता कार्यमा बन्देज लगाउन पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय राजपुर डोटीलाई पत्राचार गरेको छ । 

सीसीपीपी रोगले महामारीको रुपमा लिएको बन्देगडा, हाटखोली क्षेत्र बाख्रा पालनका लागि उर्वर स्थान हो । सो क्षेत्रका स्थानीयले व्यावसायिक रुपमा बाख्रा पालन गरेर जीवन गुजारा गर्दै आएका छन् । 

के हो प्लुरोनिमोनिया ?

पशु चिकित्सकका अनुसार प्लुरोनिमोनिया भेडाबाख्रामा देखिने सरुवा रोग हो । यसले फोक्सोमा असर गर्छ । यो रोगको जीवाणु प्रायः रोगी पशुको सिगानमा रहने गर्छ र संसर्गमा हुँदा, खोक्दा स्वस्थ पशुमा सर्ने गर्दछ । 

भेडाबाख्रामा यो रोग लागेमा तीक्ष्ण लक्षणमा ज्वरो आउने, निमोनिया हुने, जीर्ण लक्षणमा पशुले खोक्ने, दुब्लाउँदै जाने, नाकबाट सिगान आउने, भेडाबाख्रा कमजोर देखिने लगायतका लक्षण देखिन्छ । त्यस्तै, गर्भिणी पशुको गर्भ तुहिएर मृत्युदर ६० देखि १०० प्रतिशतसम्म हुने गरेको जनाइएको छ । 

यो रोग रोगी पशु र स्वस्थ पशुबीच सम्पर्क भएमा, रोगी पशुले खाएको खानापानी वा गोठ-खोर चरन क्षेत्रको प्रयोग भएमा स्वस्थ पशुमा सर्ने गरेको जनाइएको छ । भेडाबाख्रामा यो रोग लागेमा टाइलोसिन, पेन्सिलिन, क्लारोमफेनिकल, अक्सिटेटासाइक्लिन औषधि प्रयोग गर्न सकिने जनाइएको छ । 

Author

अविनाश चौधरी