गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २१ गते । नेपाल उद्योग परिसङ्घले महिला उद्यमशीलताको विकासले मात्रै देशको समग्र आर्थिक विकास सम्भव हुने जनाएको छ । परिसङ्घले मङ्गलबार महिला उद्यमी महासङ्घ नेपालका नवनिर्वाचित अध्यक्षसहितको कार्यसमितिलाई बधाई तथा स्वागत गर्ने कार्यक्रममा सो कुरा बताइएको हो ।
परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवनिर्वाचित समितिलाई बधाई दिँदै आर्थिक समृद्धिका लागि दुई संस्थाबिच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वदेशी उत्पादनको प्रवर्धन र उपभोग बढाउनुपर्ने आवश्यकता औँल्याउँदै पाण्डेले परिसङ्घबाट सञ्चालनमा रहेका ‘मेक इन नेपाल–स्वदेशी’ अभियानका बारेसमेत जानकारी गराउनुभयो । साथै उहाँले आगामी दिनमा महिला उद्यमी महासङ्घसँगको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
महिला उद्यमी महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलताको क्षेत्रमा परिसङ्घसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिबिच सहकार्यका विविध क्षेत्र र आगामी योजनाका बारेसमेत छलफल भएको परिसङ्घले जनाएको छ ।