• २१ माघ २०८२, बुधबार

भाषणभन्दा सखर नै मिठो

blog

राधा लुइटेल

फिदिम, माघ २१ गते । हेवाखोला थुनेर माउन्टेन हाइड्रो सञ्चालनमा ल्याइएपछि कुलो बन्द भयो । हिलिहाङ–७ का टीकाराम पोखरेलले सयौँ मुरी धान फल्ने खेत रोप्न छोडेर उखु रोप्नुभयो । उखुको रस पेलेर पकाइएको खुदो र सखरको बिक्री पनि राम्रै थियो । कुलोबाट सानोतिनो पानी ल्याएर सिँचाइसँगै गोडमेल गर्दा उखु सप्रिएर सखरले दिने आम्दानीले चित्त बुझाउँदै हुनुहुन्थ्यो । २०८० असार २ गतेको बाढीले खोलाको सतह झनै गहिरो भयो । २०८१ असोज १२ गते पुनः बाढी आएर बचेखुचेका कुलो बगाइदियो भने गत असोज १७ र १८ गते पुनः बाढी आउँदा सिँचाइका लागि ल्याइएका पाइपसमेत बगाइदियो ।

टीकारामसहित यस क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत उखु खेती नै हो । उखु खेतीका लागि आवश्यक सिँचाइका लागि कुलो र पाइपलाइन उपलब्ध गराउन स्थानीय सरकारसँग पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको यस क्षेत्रका किसानको गुनासो छ ।

“खोलाले बगाएको कुलो मर्मत, पाइप र उखु पेल्ने मिल उपलब्ध गराउन पटक पटक अनुरोध ग¥यौँ, स्थानीय सरकारले हाम्रा आवाज सुनेन । यसअघिको निर्वाचनमा विभिन्न किसिमका विकासका सपना देखाउँदै आएका नेता पुनः फर्केर आएनन् । एक महिनापछि निर्वाचन हुँदै छ रे । यस पटक कोही उम्मेदवार यहाँसम्म आइपुगेका छैनन् । आइहाले भने आफ्ना समस्या र गुनासो सुनाउने योजना छ,” ७७ वर्षीय पोखरेलले भन्नुभयो । 

स्थानीयसँगै प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा आफूहरूलाई सहुलियत कर्जा, अनुदानमा कृषि उपकरण, सिँचाइ र खानेपानी आदि समस्याको समाधान गरिदिने आश्वासन दिएर भोट मागेका नेता कार्यकर्ताको अनुहार चुनावपछि कहिल्यै नदेखिएको अर्का किसान लोकबहादुर थापाले बताउनुभयो ।

“पहिले गरेका वाचा पूरा नगरेकै कारण यस पटक बस्तीसम्म आइपुग्न सक्नुभएको छैन । टोल टोलमा भेटघाट र कोण सभा गर्दै हुनुहुन्छ रे । सखर पेल्ने सिजनमा भाषण सुन्ने फुर्सद पनि हुँदैन । उहाँहरूका फोस्रा भाषण र आश्वासनभन्दा आफ्नै मेहनतले फलाएका उखुको रस, खुदो र सखर गुलियो,” थापाले थप्नुभयो ।

थापा र पोखरेलको जस्तै समस्या फिदिम–४ र हिलिहाङ–७ लाई सिमाना छुट्याएर बगेको हेवाखोला आसपास उखु खेती गर्दै आएका २० किसानको पनि व्यस्तता एउटै छ ।

यहाँका प्रायः किसानले उर्वर फाँटमा ज्ञवरा जातका उखु लगाएका छन् । यस वर्ष गत असोज १२ गते आएको बाढीले उखु रोपेको खेत कटान गरेर लगे पनि बचेको खेतको उत्पादन स्याहार्दै सखर निकाल्नु किसानको दैनिकी बनेको छ ।  उनीहरूको आवश्यकता पनि साझा छन् । खोलाको पानी सुकाएर नजिकैको उत्पादन गृहबाट माउन्टेन हाइड्रोले बिजुली निकाली रहेको छ तर यस क्षेत्रका नागरिकले विद्युत् सहजै पाएका छैनन् । विभिन्न समस्यासँग पौँठेजोरी खेल्दै उखु रोपेर गुलियो रस, सखर र खुदो उत्पादन गरिरहेका किसानको माग एउटै छ त्यो हो किसानका समस्या समाधान गर्ने एजेन्डा ल्याऊ अनि हेरेर भोट दिऔँला । अहिले फिदिम–४ र हिलिहाङ–७ मा मात्रै २० परिवारले व्यावसायिक उखु खेती गरिरहेका छन् ।

आफ्नै अनुभव र सिपले उखु खेती गरेर सखर उत्पादन गर्दै आएका किसान स्थानीय तह र कृषि ज्ञान केन्द्रलगायतका सरोकारवाला निकायबाट प्राविधिक सहयोग नपाएको गुनासो छ ।