• २१ माघ २०८२, बुधबार

समानुपातिकमा पुरुषभन्दा महिला उम्मेदवार बढी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २१ गते  । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेका बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ । पुस १३ र १४ गते राजनीतिक दलले पेस गरेका बन्दसूचीबाट ७६ जना हटाइएसँगै आयोगले मङ्गलबार बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको हो । सार्वजनिक नामावली अनुसार प्रतिनिधि सभाको ११० सदस्यका लागि तीन हजार १३५ उम्मेदवार कायम भएका छन् । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको र तीन हजार १३५ उम्मेदवार कायम भएको बताउनुभयो । आयोगले सार्वजनिक गरेको सूची अनुसार अन्तिम नामावलीमा महिला उम्मेदवार एक हजार ७७२ र पुरुष उम्मेदवार एक हजार ३६३ जना रहेका छन् । 

समानुपातिकमा ६३ राजनीतिक दलबाट एकल र संयुक्त गरी ५७ चिह्न कायम भएका छन् । समानुपातिकतर्फको मतपत्रमा भने ५८ चिह्न कायम भइसकेका छन् । बन्दसूची पेस भएपछि जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता भएपछि सूची संशोधन भएको थियो । सो अनुसार ५७ चिह्न कायम भएका हुन् । 

आयोगले सार्वजनिक गरेको सूची अनुसार नेपाल मजदुर किसान पार्टीबाट ११० कै नाम कायम भएको छ । यस्तै नेपाल लोकतान्त्रिक पार्टीका १२, राष्ट्रिय जनमोर्चाका ११० नै उम्मेदवार कायम भएका छन् । 

गतिशील लोकतान्त्रिक पार्टीका ११, जनता समाजवादी पार्टी नेपालका १०१ र नेकपा (माले) का ११० नै उम्मेदवार कायम भएका छन् । सार्वजनिक सूची अनुसार श्रम संस्कृति पार्टीका १००, नेपाल सद्भावना पार्टीका १०७, नेकपा (एमाले) का १०९ उम्मेदवार कायम भएका छन् । यस्तै जनमत पार्टीका १०६, राष्ट्रिय प्रजातन्त्र पार्टीका ११०, राष्ट्रिय स्वतन्त्र पार्टीका १०८ उम्मेदवार कायम भएका छन् । यस्तै नेपाली कांग्रेसका पनि १०८ उम्मेदवार कायम भएका छन् । 

पच्चिस हजारभन्दा बढी सहयोग बैङ्कबाट लिनुपर्ने

यसैबिच प्रतिनिधि सभा निर्वाचमा उम्मेदवार बनेका व्यक्ति वा राजनीतिक दलले कसैले स्वैच्छिक रूपमा सहयोगस्वरूप दिएको २५ हजार रुपियाँभन्दा बढी रकम बैङ्क खातामार्फत मात्रै लिनुपर्ने भएको छ । 

निर्वाचन आयोगले स्वीकृत गरेको प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८२ मा यो व्यवस्था उल्लेख गरिएको छ । आयोगले निर्वाचनलाई लक्षित गर्दै पहिलो पटक यस्तो कार्यविधि बनाएर स्वीकृत गरेको हो । कार्यविधि मङ्गलबार सार्वजनिक गरिएको हो र यो कार्यविधि तुरुन्त लागु हुने आयोगले जनाएको छ । 

निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने स्वैच्छिक आर्थिक सहयोगको रकमलाई पारदर्शी बनाउने उद्देश्यले बैङ्क खाता कार्यविधि स्वीकृत गरेको हो । त्यस्तो प्रचारप्रसारका लागि राजनीतिक दल एवं उम्मेदवारले गर्ने खर्चलाई मितव्ययी र पारदर्शी बनाई निर्वाचन सुशासन कायम गर्न हुने अपेक्षा आयोगले गरेको छ ।