राजु लामिछाने
रुकुमपश्चिम, माघ २१ गते । रुकुमपश्चिममा शान्ति प्रक्रियापछिका सबै निर्वाचनमा विजयी भएका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्मा यस पटक उहाँसहित ११ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादी मूलका चारसहित ११ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । विगतमा जनार्दनलाई जिताउन सहयोग गर्ने नै अहिले प्रतिस्पर्धामा हुनुहुन्छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचन हुँदै २०७०, २०७४ र २०७९ मा भारी मतका साथ निर्वाचित जनार्दनलाई अहिले जितको अन्योल छ । माओवादी युद्धकालदेखि नै प्रचण्डको सहयात्री रहनुभएका जनार्दनले प्रचण्डको साथ छाडेर प्रलोपाबाट चुनावी मैदानमा हुनुहुन्छ । सशस्त्र जनयुद्ध तथा माओवादी मूलधारको राजनीतिमा प्रचण्डको पक्षमा सतिसाल झैँ उभिने जनार्दनको विपक्षमा अहिले प्रचण्डकै नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा उभिनुभएको छ । गोपाल शर्मा विगतका निर्वाचनमा जनार्दन शर्माको चुनावी अभियानका कमान्डर, गृहमन्त्री हुँदाका स्वकीय सचिव, कर्णाली प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुनुहुन्छ ।
जिल्लाका ७३ वटै वडामा बलियो पार्टी संरचना निर्माण गरेर चुनावी अभियान तीव्र पारेका गोपाल शर्माले रुकुममा कम्युनिस्ट आन्दोलन र विरासत जोगाउन सफल हुने दाबी गर्नुभएको छ । जनार्दनसँग गोपाल शर्मासहित माओवादी मूलका अन्य तीन जना पनि चुनावी मैदानमा उत्रिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट चन्द्रबहादुर बुढा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही उम्मेदवार हुनुहुन्छ । शाही माओवादी केन्द्रको रुकुम–काठमाडौँ सम्पर्क समिति र अघिल्लो प्रदेश सभा निर्वाचनमा माओवादीलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने युवा नेता हुनुहुन्छ ।
नयाँ उम्मेदवार
नेपाली कांग्रेसले युवा नेता राजु केसीलाई चुनावमा उतारेको छ । जेनजी आन्दोलनको मर्म, पुस्तान्तरणको माग र उच्च व्यावसायिक छविका कारण केसीले जित्ने आकलन कांग्रेसजनमा छ । माओवादीको मत विभाजन, प्रलोपासँगको चुनावी गठबन्धनमा असन्तुष्ट एमाले कार्यकर्ताको मतसमेत थपेर आफू विजयी हुने दाउमा राजु केसी हुनुहुन्छ । जिल्ला पार्टीबाट उम्मेदवार सिफारिस नभए पनि केसीले टिकट ल्याएपछि कांग्रेसको एक टोली रुष्ट रहेकाले आफ्नै पार्टी मिलाउन कांग्रेसमा हम्मे परेको छ ।
विगतको मत आँकडा
२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र), नेपाल समाजवादी पार्टी र नेपाली कांग्रेसबिचको गठबन्धनबाट साझा उम्मेदवार रहनुभएका जनार्दनले ३९ हजार ५४९ मत ल्याएर विजयी हुनुभएको थियो । एक्लै निर्वाचनमा होमिनुभएका नेकपा (एमाले) का उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९६१ मत प्राप्त गर्नुभएको थियो । समानुपातिकतर्फ माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको पार्टीको एकल चुनाव चिह्नको मत ३४ हजार ३४७, नेकपा एमालेको आठ हजार ७६९ र नेपाली कांग्रेसको आठ हजार ७६६ रहेको छ । त्यस्तै रास्वपाको एक हजार ८६६ र एकीकृत समाजवादीको एक हजार ५१० रहेको थियो ।
एमालेको साथले हौसला
एमालेले आफ्ना उम्मेदवार नन्दराम देवकोटाको उम्मेदवारी निष्क्रिय बनाएर शर्मालाई सघाउने आधिकारिक निर्णय गरेपछि देवकोटाकै नेतृत्वमा ५५५ सदस्यीय चुनाव परिचालन कमिटी गठन भएको छ । जसले प्रलोपामा हौसला थपेको छ । एमालेको मतले जनार्दनलाई राहत हुने देखिए पनि एमालेभित्र एकता भने देखिएको छैन । विगतमा आफैँसँग रहेका कार्यकर्ताले कति साथ दिन्छन् भन्ने कुराले जनार्दनको जित वा हार मापन गर्ने छ । यसमा रास्वपालगायत नयाँ दलप्रतिको लहरले समेत प्रभाव पार्ने देखिन्छ । पुराना दलभित्रको बेमेल, विभाजन, चुनावी गठबन्धन, अलग चुनाव चिह्नदेखि नयाँ दलप्रतिको आकर्षणका कारण यस पटकको निर्वाचनमा कुन दल र उम्मेदवारले जित हासिल गर्छ भनेर सजिलै आकलन गर्न कठिन छ ।