• २० माघ २०८२, मङ्गलबार

निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

blog

राष्ट्रपति रामचन्द्र पौडेल

जापान (टोकियो), माघ २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा रहेका नेपालीहरूले नेपालको अर्थतन्त्र र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गर्नुभएको हो ।

“आगामी दिनमा विदेशमा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु,” राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले विभिन्न पेसा र व्यवसायमा आबद्ध नेपाली समुदायको हित र समस्या समाधानका लागि नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अङ्गीकार गरेसँगै दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न तीव्र गतिमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र विधिको शासनमार्फत प्रभावकारी सेवा प्रवाह हुनुपर्ने उहाँको भनाइ थियो ।

आगामी निर्वाचनबारे चर्चा गर्दै राष्ट्रपतिले भन्नुभयो, “युवा पुस्ताले गरेको सुशासनको मागलाई सम्बोधन गर्दै देशको समृद्धिका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेको छ । यसले मुलुकमा स्थायित्व र विकासका नयाँ सम्भावनाहरू खोल्नेछ ।” उहाँले यो निर्वाचनलाई सफल बनाउन विदेशमा रहेका नेपालीहरूलाई आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।


नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा उहाँले जापानलाई नेपालको विश्वासिलो विकास साझेदारका रूपमा स्मरण गर्नुभयो । औद्योगिक विकास, कृषि, जलविद्युत् र पूर्वाधारका क्षेत्रमा जापानको प्रविधि र अनुभवबाट नेपाल लाभान्वित हुन चाहेको उहाँले बताउनुभयो ।

अन्त्यमा, राष्ट्रपति पौडेलले जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न र पर्यटकीय प्रवर्द्धनका लागि 'अनौपचारिक राजदूत'का रूपमा भूमिका खेल्न नेपाली समुदायलाई आह्वान गर्नुभयो ।