चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २० गते। आउँदो शुक्रबारदेखि सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने जिल्लस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तीब्र पारिएको छ। जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजना र सिदिङ्वा गाउँपालिकाको व्यवस्थापन तथा संयोजनमा हुन लागेको प्रतियोगिताको तयारी तीब्र पारिएको हो।
प्रतियोगिताको व्यवस्थापन तथा संयोजन गर्ने जिम्मेवारीमा रहेको सिदिङ्वा गाउँपालिकाले तयारीलाई तीब्र पारेको छ। जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि तयारीलाई तीब्र पारिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो।
अध्यक्ष राईका अनुसार प्रतियोगिता सञ्चालनका लागि खेल मैदानसहितका संरचना र आवश्यक व्यवस्थापनका कार्य करिव अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखुस्थित टावरडाँडामा पालिकाले निर्माण गरेको खेल मैदानमा सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले जानकारी दिनुभयो।
प्रतियोगितालाई नै व्यवस्थित बनाउनमा सहयोग पुग्नेगरी गाउँपालिकाले उपभोग्य वस्तुको मूल्य निर्धारणसमेत गरेको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार प्रतियोगिताको अवधिभरका लागि साब्लाखु भञ्ज्याङ बजार र आसपासका क्षेत्रमा खाना, खाजासहितका उपभोग्य वस्तुको मूल्य दर निर्धारण गरिएको छ।
प्रतियोगितामा सहभागी हुन आउने खेलाडी र आगन्तुकजनको सहजताका लागि उपभोग्य वस्तुको मूल्य दर निर्धारण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत आधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाले शाकाहारी खाना २५० रुपियाँ र मासु खाना (माङ्साहारी) को ३५० रुपियाँ मात्र तोकेको छ।
त्यस्तै शाकाहारी खाजा ७० रुपियाँ देखि १०० रुपियाँसम्म र मासुसहितको खाजाको मूल्य १४० देखि २०० रुपियाँसम्म तोकिएको छ। त्यसैगरी चिया, कफीका परिकार साथै अन्य उपभोग्य वस्तुको मूल्य पनि अत्यन्तै सस्तो र न्युनतम् दर तोकिएको गाउँपालिकाले जनाएको छ।
यता जिल्लाका विभिन्न स्थानीय तहबाट सहभागी हुने खेलाडी र व्यवस्थापकीय टोलीको आवासका लागि होटल तथा घरको विभाजनसमेत गरी दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत आधिकारीले जानकारी दिनुभयो। उहाँकाअनुसार गाउँपालिकाले विभाजन गरेबमोजिम नै प्रतियोगितामा सहभागी हुन जाने स्थानीय तहका खेलाडी र व्यवस्थापकीय टोलीले बस्नुपर्ने छ।
माघ २३ गते शुक्रबारदेखि २६ गते सोमबारसम्म सञ्चालन हुने १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका नौ वटै स्थानीय तहले सहभागिता जनाउने छन्। प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र ७० कास्य पदकका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिनुभयो। गतवर्ष १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मैवाखोला गाउँपालिकामा सञ्चालन भएको थियो।