• २० माघ २०८२, मङ्गलबार

घान्द्रुक महोत्सवमा घोडा दौडदेखि साँढ जुदाइसम्म

blog

घान्द्रुक पर्यटन महोत्सवबारे जानकारी दिन मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलन । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी 

लेखनाथ, माघ २० गते। प्राकृतिक दृष्टिले मनोरम र पृथक खालका गाउँहरु पछिल्लो समय पर्यटन प्रवर्धन गर्न अनेक खालका गतिविधिमा सक्रिय छन्। विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने कास्कीको पर्यटकीय गाउँ घान्द्रुक राष्ट्रिय, अन्तर्राष्ट्रिय पाहुना बोलाउँदै प्रचारप्रसार गर्न महोत्सवको तयारीमा छ। 

अन्नपूर्ण फेरोमा पर्ने यो गाउँ पोखराबाट साढे २ घन्टाको सवारी यात्रामा पुगिन्छ।  घान्द्रुकबाट भैसीखर्क, टाडापानी, वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी पुग्न सकिन्छ भने घान्द्रुक हुँदै टाडापानी, इसरु, दोबाटो, मुल्डे हुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जाने पदमार्ग पनि छ। 

घान्द्रुकबाट छोम्रोङ हुँदै अन्नपूर्ण बेसक्याप पुग्नेहरु पनि छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ मा पर्ने घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ। घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)ले संयुक्त रुपमा महोत्सव गर्न लागेका हुन्।

मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले सबै मौसममा पर्यटन भन्ने नारासहित घान्द्रुक पर्यटन महोत्सवलाई निरन्तरता दिइएको उल्लेख गर्नुभयो। घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङले महोत्सव अवधिभर पर्यटकलाई आवास र खानामा १५ प्रतिशत छुट दिइने बताउनुहुन्छ।

“घान्द्रुकमा एकै दिन दुई हजार पाँच सय पर्यटक राख्न सक्ने होटल तथा होमस्टे छन्,”  उहाँले भन्नुभयो। रोधीं क्लब कोँड (घान्द्रुक) अध्यक्ष लक्षिण गुरुङ महोत्सवले घान्द्रुकको पर्यटन प्रवर्धन गर्न मद्दत पुग्ने बताउनुहुन्छ। समितिका अध्यक्ष गुरुङले महोत्सवमा खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगितासहित विभिन्न प्रतियोगिता हुने बताउनुभयो।

राष्ट्रव्यापी बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, भेडाको साँढ जुदाइ प्रतियोगिता, रस्साकस्सी, छेलो प्रतियोगिता लगायतका प्रतियोगिता हुने छन्। खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र राष्ट्रव्यापी अन्तरपालिका खुला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले समान एक लाख ६६ हजार छ सय ६६, उपविजेताले एक लाख ११ हजार एक सय ११ र तृतीय हुनेले ५५ हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। 

घोडा दौड प्रतियोगितामा प्रथम हुनेले एक लाख एक हजार एक सय ११, दोस्रो हुनेले ४० हजार चार सय ४४, तृतीय हुनेले २० हजार दुई सय २२, चौथो हुनेले ११ हजार, पाँचौ हुनेले नौ हजार, छैठौं हुनेले सात हजार र सातौं हुनेले पाँच हजार रुपैयाँसहित प्रमाणपत्र पाउने छन्।  

घान्द्रुक चक्रीय पदमार्ग दौडको प्रतियोगिताको विजेताले १६ हजार छ सय ६६, उपविजेताले सात हजार चार सय ४४ र तृतीय हुनेले तीन हजार चार सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। छेलो प्रतियोगिताको विजेताले १६ हजार छ सय ६६ र उपविजेताले छ हजार छ सय ६६ रुपैयाँ पाउने छन्। 

महिला तथा पुरुष रस्साकस्सी प्रतियोगिताका विजेताले समान ११ हजार एक सय ११ र उपविजेताले पाँच हजार पाँच सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। भेडाको साढ जुदाइ प्रतियोगिताका प्रथमले ११ हजार, दोस्रो हुनेले नौ हजार, तृतीय हुनेले सात हजार, चौथो हुनेले पाँच हजार र पाँचौ हुनेले तीन हजार रुपैयाँ पुरस्कार पाउने छन्।