गोरखापत्र अनलाइन
बुटवल, माघ २० गते। नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले जनताको विश्वासको घर भएकाले कसैले किनारा लगाउन नसक्ने बताउनुभएको छ ।
बुटवल उपमहानगरपालिका–६ को वडा परिचालन कमिटीको प्रचार कार्यालय मङ्गलबार उदघाटन गर्दै उपाध्यक्ष पौडेलले सो कुरा बताउनुभएको हो । ‘कुहिनाले पहाड पन्छाउन सम्भव नभएजस्तै कसैले एमालेलाई पन्छाउने सपना नदेखे हुन्छ’ उहाँले भन्नुभयो, “जनताको बिचमा विश्वासको घर बनाएको पार्टीलाई कसैले किनारा लगाउन नसोचे हुन्छ ।’ देशको बागडोर सम्हाल्ने बनाउन एमालेलाई विजयी गराउने जिम्मा जनताको काँधमा रहेको उहाँको भनाइ छ।
आफू जनताको साथ र समर्थनले चुनावी मैदानमा होमिएकाले सम्पूर्ण कार्यकतासहित एमालेका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने अवस्था आएको पौडेलले बताउनुभयो । रूपन्देही देशको विकसित ठाउँको रूपमा विकास भएको बताउँदै पौडेलले अझै बाँकी रहेको एकसाथ सम्पन्न गर्दै अघि बढने बताउनुभयो ।
बुटवलका जनताको आशीर्वादले आफू पटक–पटक निर्वाचित भएको बताउँदै पौडेलले यो पटक पनि नागरिकको सदभाव र मायाले आफूलाई उत्साहित बनाएको बताउनुभयो ।
कार्यक्रममा एमाले समानुपातिक उम्मेदवार एजाज आलमले देशको भविष्य निर्माण गर्न र यस क्षेत्रको थप विकासका लागि उपाध्यक्ष विष्णु पौडेललाई र एमालेलाई जिताउन सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो । जगदीशचन्द्र आचार्यको अध्यक्षतमा कार्यक्रम भएको थियो । कार्यक्रममा एमाले कार्यकताको उल्लेख्नीय सहभागिता रहेको थियो ।
एमाले उपाध्यक्ष तथा क्षेत्र नम्बर २ का उम्मेदवार पौडेलले मङ्गलबार बुटवल–१२ तथा तिलोत्तमा वडा १ र २ को निर्वाचन परिचालन कमिटीको कार्यालय पनि उदघाटन गर्नुभयो ।