काठमाडौँ, माघ २० गते । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा उच्च पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका डेबिट ढकालका अनुसार अहिले काठमाडौँ उपत्यका लगायत बागमती र गण्डकी प्रदेशमा बादल लागेको अवस्था छ ।
उहाँले भन्नुभयो, “गण्डकी प्रदेशको पहाडी भूभाग र हिमाली भूभागतिर हल्का वर्षा हुने सम्भावना बढी देखिन्छ । विशेषगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा हल्का किसिमको वर्षा हुने देखिन्छ ।”
यसैगरी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपात भएको छ । अन्य भूभागमा पनि खासै वर्षा भएको भने नदेखिएको उहाँको भनाइ छ ।
उहाँले आज रातिसम्ममा काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना भने एकदमै न्यून रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना एकदमै न्यून देखिन्छ । भइहाल्यो भने एकदमै छिटफुट मात्रै हो । त्यो सम्भावना पनि कम नै छ ।”