• १७ माघ २०८२, शनिबार

सौन्दर्य सामग्रीमा अत्यधिक सिसा मिसावट, जनस्वास्थ्यमा गम्भीर असर

blog

काठमाडौँ, माघ १७ गते । नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य सामग्रीमा अत्यधिक मात्रामा सिसा (लिड) को मिसावट गर्ने गरेको पाइएको छ । मानिसले प्रयोग गर्ने दन्तमञ्जन (टुथपेस्ट) तथा महिलाले दैनिक प्रयोग गर्ने सिन्दूर र गाजलमा समेत अत्यधिक सिसाको प्रयोग गरिएको पाइएको हो ।  

जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले २०८२ कात्तिकदेखि पुस महिनामा सौन्दर्य सामग्रीको अध्ययन काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरमा गरिएको थियो । सो अध्ययनमा खुद्रा पसलबाट एक सय वटा नुमना सङ्कलन गरिएको थियो । यस अध्ययनमा टुथपेस्ट ३१, सिन्दूर ४० र गाजल २९ वटा ब्रान्डका नमुना सङ्कलन गरिएको थियो । अध्ययनमा सिन्दूरमा सबैभन्दा बढी सिसा मिसाएको पाइएको छ । “सिन्दूर सबैभन्दा उच्च जोखिमयुक्त देखिएको छ,” केन्द्रका कार्यकारी निर्देशक डा. रामचरित्र साहले भन्नुभयो, “परीक्षण गरिएको सिन्दूरमध्ये ४० प्रतिशत नमुनामा सिसा भेटिएको छ ।” उहाँका अनुसार केही नमुनामा १२४ पिपिएमसम्म सिसा पाइएको छ । यसै गरी टुथपेस्ट (दन्तमञ्जन) का ४५ प्रतिशत नमुनामा सिसा भेटिएको छ । जसमा बालबालिकाका लागि भनेर बजारमा उपलब्ध केही ब्रान्डसमेत छन् । 

‘एटोमिक एब्जोप्र्सन स्पेक्ट्रोस्कोपी’ (एएएस) (सिसाको मात्रा नाप्ने) विधिबाट गरिएको प्रयोगशाला परीक्षणमा ३१ प्रतिशत नमुनामा लिड अर्थात् सिसा भेटिएको छ, जसलाई अध्ययनले गम्भीर तथा अत्यन्तै चिन्ताजनक अवस्था भएको भनेको छ । नेपालमा सौन्दर्य सामग्रीका लागि स्वैच्छिक रूपमा तोकिएको १० पिपिएम मापदण्डसमेत ५१ प्रतिशतले उल्लङ्घन गरेको पाइएको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४२.५ प्रतिशत नमुनामा सिसा पाइएको छ । अध्ययनले हर्बल वा प्राकृतिक भनेर बिक्री हुने उत्पादनमा समेत अत्यधिक मात्रामा सिसा पाइएको देखाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सौन्दर्य सामग्रीमा अत्यधिक सिसा प्रयोग हुनु स्वास्थ्यका लागि गम्भीर र घातक विषय भएको बताउनुभयो । उहाँले यस्ता घातक र विषालु पदार्थको प्रयोग गर्दा बौद्धिक क्षमता घट्नुका साथै मानिस आक्रमक हुनेलगायतका समस्या देखिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सौन्दर्य सामग्रीको नियमन गर्ने निकाय नेपालमा छैन । यस्ता सामग्रीको अनुगमन गर्ने छुट्टै निकायको आवश्यकता छ । यस विषयमा स्वास्थ्य मन्त्रालयले पहल गर्ने छ ।” 

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले सौन्दर्य सामग्रीको प्रभावकारी नियमनका लागि औषधी ऐन संशोधन गर्नुपर्ने बताउनुभयो । विदेशमा औषधी व्यवस्था विभागले सौन्दर्य साधनको नियमन गर्ने गरेको उल्लेख गर्दै उहाँले नेपालमा भने जथाभाबी प्रयोग भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

 
Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।