काठमाडौँ, माघ १५ गते । आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा विगतमाभन्दा धेरै चिकित्सकले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी तथा स्वतन्त्र ढङ्गले उम्मेदवारी दिनेमा चिकित्सक पनि छन् । विगतको तुलनामा यो पटक विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा चिकित्सक चुनावी मैदानमा धेरै उत्रिएका छन् । स्वास्थ्य क्षेत्रको विकास, जनस्वास्थ्य नीति, स्वास्थ्य शिक्षालगायतका विषयमा प्रत्यक्ष अनुभव बोकेका चिकित्सकले उम्मेदवारी दिनुलाई यस पटकको निर्वाचनमा महìवकासाथ हेरिएको छ ।
नेपाली कांग्रेसबाट डा. शेखर कोइरालाले मोरङबाट उम्मेदवारी दिनुभएको छ । उहाँ वरिष्ठ फिजिसियन हुनुहुन्छ । हाल उहाँ चिकित्सा पेसा पूर्ण रूपमा छोडेर राजनीतिमा लाग्नुभएको छ । दलगत रूपमा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने चिकित्सकको सङ्ख्या तुलनात्मक रूपमा बढी देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ बाट डा. तोसिमा कार्की प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहनुभएको छ । डा. कार्की पेसाले चिकित्सक हुनुहुन्छ । उहाँ जनरल सर्जन हुनुहुन्छ । उहाँ यसअघि पनि ललितपुरबाट प्रतिनिधि सभामा विजयी हुनुभएको थियो । डा. कार्की स्वास्थ्य क्षेत्रसँग सम्बन्धित बहस र नीतिगत सवालमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले संसद्मा विशेष गरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयलाई महत्व दिएर उठाउने गर्नुहुन्थ्यो ।
यसै गरी रास्वपाकै तर्फबाट कैलाली क्षेत्र नम्बर ५ बाट डा. आनन्दबहादुर चन्दले उम्मेदवारी दिनुभएको छ । जनस्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका डा. चन्द ग्रामीण स्वास्थ्य, प्राथमिक स्वास्थ्य सेवा र स्वास्थ्य पहुँचका विषयसँग परिचित व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । विशेष गरी डा. चन्दले धूमपान तथा सुर्तीजन्य पदार्थविरुद्ध अभियन्ताका रूपमा काम गर्दै आउनुभएको छ । उहाँले आफ्नो उम्मेदवारीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्न सक्ने योजनाकासाथ आफू अगाडि बढेको बताउनुहुन्छ । यसै गरी डा. विजय पन्त ‘आशुतोस’ ले पनि ललितपुर ३ बाट उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको छ ।
यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ बाट डा. अभिसेक सिंह शाह उम्मेदवार रहनुभएको छ । समानुपातिक प्रणालीमार्फत संसद्मा पुग्ने लक्ष्यसहित उहाँको नाम दलको सूचीमा समावेश गरिएको हो । यसै गरी रास्वपाबाट डा. मनोहर प्रधान, डा. रञ्जित पञ्जियार, डा. रूपक घिमिरे पनि समानुपातिक उम्मेदवार हुनुहुन्छ । यसै गरी रास्वपाबाट स्वास्थ्यकर्मी तथा नेपाल दृष्टि सङ्घका केन्द्रीय अध्यक्ष दीपककुमार शाहले पनि महोत्तरी २ बाट प्रतक्षतर्फ उम्मेदवारी दिनुभएको छ ।
अब आउने निर्वाचनमा रुपन्देही २ बाट डा. निकोलस भुसालले पनि स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनुभएको छ । उहाँले दलभन्दाबाहिर रहेर प्रत्यक्ष जनप्रतिनिधिका रूपमा संसद् पुग्ने लक्ष्यसहित उम्मेदवारी दर्ता गराउनुभएको हो । चिकित्सक पृष्ठभूमिका स्वतन्त्र उम्मेदवारका रूपमा उहाँले उम्मेदवारी दिनुभएको हो ।
चिकित्सक पृष्ठभूमिका उम्मेदवारहरू विभिन्न भौगोलिक क्षेत्र, फरक फरक राजनीतिक पृष्ठभूमि र अलग अलग निर्वाचन प्रणालीमार्फत संसद् प्रवेशको प्रयासमा छन् । राजनीतिमा चिकित्सकको सहभागिता नयाँ विषय नभए पनि यस पटकको निर्वाचनमा स्वास्थ्य सेवा प्रणाली, सरकारी अस्पतालको अवस्था, स्वास्थ्य बिमा, औषधी उपलब्धता र नागरिकको उपचार खर्च जस्ता मुद्दा सार्वजनिक बहसको केन्द्रमा रहेका कारण चिकित्सकहरू उम्मेदवारको भूमिकामा देखिएका छन् ।