राधाकृष्ण डुम्रे
वालिङ, माघ १४ गते । स्याङ्जाको वालिङमा बुधबारबाट नवौं चरणको महोत्सव सुरु भएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ नारासहित वालिङस्थित खेल मैदानमा गण्डकी प्रदेशस्तरीय महोत्सव सुरु भएको हो ।
महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभएको छ । महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक, व्यापारिक गरी विभिन्न विधाका स्टलहरू रहेका महोत्सवको आयोजक वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि, कृषि औजार तथा हस्तकलाका लागि ४० भन्दा बढी स्टलहरू निःशुल्क उपलब्ध गराइएको छ भने स्थानीय व्यापारीहरुका लागि ३० प्रतिशत छुट दिइएको छ ।
महोत्सवबाट एक करोड ६८ लाख आम्दानी तथा एक करोड १४ लाख ५१ हजार खर्च हुने संघका सचिव तथा प्रचार प्रसार समितिका संयोजक पिताम्बर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा ५३ लाख ४९ हजार बचत हुने अनुमान् रहेको छ ।
नवौ वालिङ महोत्सवमा १० करोडको अल्पकालीन कारोबार र तीन लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको खनालको भनाइ छ । महोत्सवलाई गण्डकी प्रदेशमा नै उत्कृष्ट मानिन्छ । महोत्सव माघ २५ गतेसम्म गरी १२ दिन सञ्चालन हुने संघले जनाएको छ ।