चन्द्र पन्दाक
ताप्लेजुङ, माघ १४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ ताप्लेजुङका अठार जनाको नाम बन्दसूचीमा समावेश भएको छ । विभिन्न दलका तर्फबाट समानुपातिकमा सिफारिस भएकाको नाम बन्दसूचीमा समावेश भएको हो ।
निर्वाचन आयोग नेपालले यसअघि सार्वजनिक गरेको बन्दसूची विवरणअनुसार ताप्लेजुङबाट विभिन्न १२ राजनीतिक दलका १८ जनाको नाम बन्दसूचीमा समावेश भएको छ । बन्दसूचीमा पर्ने नामअन्तर्गत नेपाली कांग्रेसकी गीताकुमारी सेन्दाङ रहनुभएको छ । सेन्दाङको नाम आदिवासी जनजाति महिलातर्फ बन्दसूचीको १ नम्बरमा रहेको छ ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र पोमु (आरसी) को नाम पनि बन्दसूचीमा परेको छ । आदिवासी जनजाति पुरुषतर्फ पोमुको नाम बन्दसूचीको १३ नम्बरमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश प्रसाई, मिङ्मा ग्याबु शेर्पा र निर्मला खिम्दिङको नाम बन्दसूचीमा समेटिएको छ । प्रसाई खसआर्य पुरुषतर्फ बन्दसूचीको १ नम्बर, शेर्पा आदिवासी जनजाति पुरुषको ३ नम्बर र खिम्दिङको नाम आदिवासी जनजाति महिलातर्फ १७ नम्बरमा रहेको छ ।
बन्दसूचीमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मात्रै पाँच जनाको नाम समावेश भएको छ । मञ्चका अमृता गुरुङ, ललिता लिम्बू, रामबहादुर लिम्बू, देउबहादुर लिम्बू र काजीमान ओख्राबुको नाम बन्दसूचीमा समावेश गरिएको छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालकी अन्जना शेर्पा, नेपाल जनमुक्ति पाटीका प्रेमबहादुर लिम्बू, नेपाल कम्युनिस्ट पार्टी (माले) की खगिसरा विकको नाम बन्दसूचीमा समावेश छ ।
संयुक्त नागरिक पार्टीका तर्फबाट आइतरानी लिम्बू, नेपाल जनता पार्टीकी रामकुमारी लिम्बू, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का तर्फबाट पोलहाङ साम्सोहाङको नाम समावेश भएको छ । त्यस्तै सार्वभौम नागरिक पार्टीका तर्फबाट प्रतापसिंह लिम्बू र नेपाल सङ्घीय समाजवादी पार्टीका तर्फबाट अनिता थोक्लिहाङ खड्काको नाम बन्दसूचीमा रहेको छ ।
जिल्लाबाट नेकपा (एमाले) का तर्फबाट तीन जनाको नाम समानुपातिकका लागि सिफारिस गरिएको भए पनि बन्दसूचीमा कसैलाई पनि समेटिएको छैन । यता निर्वाचनमा सुविधाजनक मत प्राप्त गर्न सक्नेभन्दै नेपाली काँग्रेसकी सेन्दाङ तथा रास्वपाका प्रसाई र शेर्पा समानुपातिकतर्फ प्रतिनिधित्व गर्दैै प्रतिनिधिसभा सदस्य बन्ने निश्चितजस्तै रहेको भनी जिल्लामा चर्चा हुने गरेको छ ।