• १४ माघ २०८२, बुधबार

परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा महोत्तरीका मतदान केन्द्रको अनुगमन

blog

महोत्तरीको सिमावर्ती गाउँ मलिवाडामा मतदान केन्द्रको अनगुमन गर्नुहुँदै परराष्ट्रमन्त्री बालानन्द शर्मा । तस्बिर : महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर माघ १४ गते। परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन महोत्तरीको सिमावर्ती क्षेत्रको अनुगमन गर्नुभएको छ । 

बुधबार सदरमुकाम जलेश्वर आइपुग्नु भएका परराष्ट्रमन्त्री शर्माले सीमावर्ती गाउँ मलिवाडा र नैन्ही स्थित मतदान केन्द्रको स्थलगत निरीक्षण अनुगमन गर्नुभएको हो । 

अनुगमन पश्चात प्रतिक्रिया दिनु हुँदै मन्त्री शर्माले फागुन २१ गते हुने निर्वाचनको तयारीबारे जानकारी लिन महोत्तरी आएको बताउनुभयो । 

“महोत्तरी आउनुको मुख्य कारण नेपाल सरकारले निर्वाचनका लागि कुन किसिमको सहयोग गरिदिनु पर्छ, कुनै किसिमको कठिनाई छ कि ? त्यो बुझ्न आएको छुँ”, उहाँले भन्नुभयो । 

निर्वाचनको अर्को कुनै विकल्प छैन, निर्वाचन गर्नैपर्छ । सुरक्षा अधिकारीलाई निर्वाचन लक्षित निर्देशन दिँदै मन्त्री शर्माले स्वच्छ, भय रहित र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । 

परराष्ट्रमन्त्री शर्माले जिल्लाका सुरक्षा अधिकारीसँग महोत्तरीमा निर्वाचनलाई लक्षित गरी बनाइएको सुरक्षा योजनाबारे जानकारी समेत लिनुभएको छ । 

मन्त्री शर्मालाई महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतका सुरक्षा अधिकारीले जिल्लाको चुनावी सुरक्षा तयारीबारे जानकारी गराउनुभएको थियो ।