• १४ माघ २०८२, बुधबार

बाँकेमा राजनीतिक दल र उम्मेदवार चुनावी प्रचारको रणनीति बनाउन व्यस्त

blog

बाँकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्ज। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, माघ १४ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन सकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्न थालेको छ। 

विभिन्न राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार समिति गठन तथा सम्पर्क कार्यालय स्थापना गर्न थालेसँगै निर्वाचनको माहोल तातिँदै गएको हो। 

अहिले जिल्लाको तीनवटै क्षेत्रमा मनोनयन दर्ता गराएका अधिकांश दल र उम्मेदवार चुनावी प्रचारको रणनीति बनाउन व्यस्त छन्। उनीहरू चुनावी जोड घटाउ गर्दै मतदाता रिझाउने योजना बनाउन सक्रिय देखिन्छन्। 

पुर्वमन्त्री मोहम्मद ईश्तियाक राई एमालेको उम्मेदवार बनेसँग बाँके क्षेत्र नम्बर २ सर्वाधिक चर्चित बनेको जनाउँदै नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले क्षेत्रीय प्रचार प्रसार समिति गठन गर्न लागिएको बताउनुभयो।

उहाँले जिल्लाका तीनवटै क्षेत्रमा प्रचार प्रसार समिति गठनसँगै सम्पर्क कार्यालय खोल्ने कार्य पनि सुर गरेको बताउनुभयो। 

सोही प्रकारले नेपाली कांग्रेस बाँकेका सभापति तथा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण गौडेलले कांग्रेसले पनि क्षेत्रीय प्रचार प्रसार समितिहरू गठन गर्ने तथा निर्वाचन सम्पर्क कार्यालयहरू स्थापना गर्ने कार्य सुरु गरेको बताउनुभयो। 

उहाँले ओपचारिक र अनौपचारिक प्रचार प्रसार सुरु भएसँगै विस्तारै समग्र जिल्ला निर्वाचनमय हुँदै गएको बताउनुभयो। 

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बाँके २ का उम्मेदवार दीपेन्द्र विष्टले आफूले प्रतिबद्धता पत्र सार्वजनिक गरेर घरदैलो र जनसम्पर्क कार्यलाई अगाडि बढाइसकेको बताउनुभयो। उहाँले ठाउँ ठाउँमा सम्पर्क कार्यालयहरू स्थापना गर्ने कार्यपनि सँगसँगै गरिरहेको जनाउनुभयो। 

सोही प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता निलराज अधिकारीले रास्वपाले पनि कार्यकर्ता परिचालन गरेर जनताको मुड बुझ्ने काम सुरु गर्दै प्रचार प्रसारलाई अगाडि बढाएको बताउनुभयो। 

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दीन राईले जिल्लाका तीनवटै क्षेत्रमा प्रचार प्रसार समिति गठन तथा सम्पर्क कार्यालयहरू खोल्न थालिसकेको बताउनुभयो।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर २ का  उम्मेदवार ऋषिराज देवकोटाले पनि प्रचार प्रसार समिति गठन र सम्पर्क कार्यालय स्थापना गर्ने कार्यमा आफुहरू जुटेको बताउनुभयो।  

सोही प्रकारले स्वतन्त्र उम्मेदवारहरुले पनि घरदैलो र प्रचार प्रसारको सुरुवात गरिसकेको बताएका छन्। स्वतन्त्र उम्मेदवार गोपाल प्रसाद गिरीले जनताका ऐजेन्डा र मागलाई बुझ्नका लागि जनसम्पर्क गरिरहेको बताउनुभयो।  

बाँकेका तीन वटा निर्वाचन क्षेत्रमा तीन सिटका लागि ५६ जना उम्मेदवारविच प्रतिष्पर्धा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ।