गुणबहादुर रोका
सुलीकोट, माघ १४ गते । उत्तरी गोरखामा हिमपात भएको छ । बुधबार बिहान ३ बजेदेखि चुमनुब्री गाउँपालिका-१ साम्दो, सामागाउँ, ल्हो, स्याला चुम्चेत र छेकाम्पारमा रूपमा हिमपात भईरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
"बिहानबाट उत्तरी गोरखामा हिमपात भईरहेको छ", चुमनुब्री गाउँपालिका-७ का पासाङ फुञ्जो लामाले भन्नुभयो, उत्तरी गोरखाबासी हिमपात भएपछि खेतीपाती वृद्धि हुनुका साथै धुलो, धुवाँ, आगजनी नहुने भएकाले स्थानीय खुशी छन् ।"
हिमपात भएपछि गाउँ नै शान्त भएको छ । आगोलागिको जोखिम घटेको छ, स्थानीय पासाङ फुञ्जो लामाले भन्नू भयो, मङ्सिरमा छरेको गहुँले पानी पाउनुका साथै उत्तरी गोरखाको बनजंगलहरू हराभरा भएको उहाँको भनाइ छ । लगात्तर चल्ने हावाहुरी कारण दैनिकसमेत घर आँगनमा आगो फुक्न समेत गाह्रो भएकाले अहिले परेको बर्षा र हिमपातले निकै राहत मिलेको चुमनुब्री गाउँपालिका-१ साम्दोका स्थानियले बताएका छन् ।
अहिले साम्दो लगाएतका ठाउँमा एक फिटसम्म हिउँ जमेकाले चिसो बढेसंगै बाताबरण सफा र स्वच्छ रहेको स्थानीयबासी दोर्जे लामाले बताउनुभयो । हिमपात भएसँगै गाउँको दैनकी पनि फेरिएको छ । मानिसहरू बाहिरी काम थाती राखेर घरभित्रै आगो तापेर समय बिताइरहेका छन् ।
यस्तै, बालबालिका हिमपातसँग खेल्न पाउँदा खुशी भएका छन् भने ज्येष्ठ नागरिकहरू यसलाई प्राकृतिक बरदानको रूपमा लिने गरेका छन्। सेतो हिउँले ढाकिएको छेकाम्पार सहित चुमनुब्रीका बस्ती अहिले रमणिय दृश्यमा परिणत भएका छन् भने लामो खडेरी पछिको हिमपातले खेती वातावरण र जनजीबन सकारात्मक प्रभाव पार्ने स्थानीयले बताएका छन् ।