• १४ माघ २०८२, बुधबार

कुम्मायक कुसायकलाई उपाधि

blog

उपाधि विजेता कुम्मायक कुसायक क्लबका खेलाडीलगायत । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ १४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४, लिङ्तेपमा सम्पन्न प्रथम लिङ्तेप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पाँचथरको कुम्मायक कुसायकले जितेको छ । 

साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङलाई फाइनल खेलमा ४–२ गोलअन्तरले पराजित गर्दै कुम्मायक कुसायकले उपाधि जितेको हो ।

उपाधि जितसँगै कुम्मायक कुसायकले तीन लाख दुई हजार ८२ रुपियाँ पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको साथीभाइ सामाजिक युवा क्लबले एक लाख ५२ हजार ८२ रुपियाँ तथा ट्रफी, पदक र प्रमाणपत्र पायो । 

वसन्त पञ्चमीको अवसरमा स्थानीय प्रगतिशील युवा क्लबले आयोजना गरेको प्रतियोगिता माघ ९ गते सुरु भई मङ्गलबार सम्पन्न भएको हो । यता प्रतियोगिताका विजेता र उपविजेतालाई मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङवीर हाङ्गाम (डम्बर) लगायतले पुरस्कार राशी साथै ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा सर्वश्रेष्ठसहित विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिएको आयोजक प्रगतिशील युवा क्लबका अध्यक्ष विजय हाङ्गाम लिम्बूले जानकारी दिनुभयो । 

अध्यक्ष हाङ्गामका अनुसार खेलकुदका माध्यममार्फत मेरिङ्देन गाउँपालिकामा रहेका पर्यटकीय स्थलका प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।