• १४ माघ २०८२, बुधबार

विपद्मा परेका चिया किसानलाई राहत

blog

असोज १८ को पहिरोमा परी चियाबारी बगाएका किसानलाई केन्द्रीय चिया सहकारी संघले राहत हस्तान्तरण गर्दै । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, माघ १४ गते । गएको असोज १८ गतेको बाढी पहिरोले चियाबारी र घर क्षति भएका साना चिया किासानलाई केन्द्रीय चिया सहकारी संघ इलामले राहत वितरण गरेको छ । 

संघले आफ्नो आन्तरिक श्रोतबाट सहकारीमा आवद्ध साना चिया किसानलाई प्रतिपरिवार नगद दश हजारका दरले राहत उपलब्ध गराएको संघका महासचिव रविन राईले बताउनुभयो । 

राईका अनुसार हिलटप चिया सहकारी सस्था देउमाइ –३ का नरबहादुर तामाङ, देउराली चिया सहकारी सस्थाका देउमाई –८ का नरबहादुर मगर, अजम्बरे चिया  सहकारी संस्था देउमाई –८ का  निर्मला खनाल भण्डारी, रत्नचोक चिया सहकारी संस्था सूर्योदय –१० का सोमबहादुर लिम्बु, सुन्दरपानी चिया सहकारी संस्था सूर्योदय –९ का प्रेम लामा, आमा चिया सहकारी संस्था सूर्योदय –४ का राजकुमारी लिम्बुलाई रहत उपलब्ध गराइएको हो ।

‘अहिलेसम्म चियाका क्षति व्यहोरेका किसानले कतैबाट पनि सहयोग पाउन सकेका छैनन् । हामीले अत्यन्त समस्यामा परेका किसानलाई मात्र सहयोग गरेका हौं ।’ राईले भन्नुभयो, ‘कृषि क्षेत्रमा नै त्यो विपद्ले ठुलो क्षति गरेको छ । त्यो क्षतिबाट किसानमाथि उठ्न सक्ने अवस्था छैन । बाली बीमा पनि नहुँदा किसानहरु समस्यामा छन् । 

असोज १८ गते गएको पहिरोका कारण इलाममा विभिन्न सहकारीमा आवद्ध ९७ किसानको चिया बगान बगाएको केन्द्रीय चिया सहकारी संघले जनाएको छ । यसबाट चार करोड ७२ लाख ९० हजार बढीको क्षति भएको विवरण संकलन गरिएको संघका महासचिव राईले जानकारी दिनुभयो । 

इलाममा असोज १८ को बाढी पहिरोले करिब २५० रोपनी चियाबारी बगाएको छ भने कतिपय किसानको बगान नै नस्ट भएको अवस्था रहेको संघले जनाएको छ । ‘जिल्लाका ४१ सहकारीमा आवद्ध तीनसय किसान यो विपद्बाट पीडित भएका छन् भने सहकारीमा आवद्ध नभएका बाँकी किसानको यकिन विवरण छैन ।’ राईले भन्नुभयो, ‘अहिलेसम्म राहतको नाममा चिया किसानलाई प्रदेश, संघ, संस्थानीय कुनै सरकारबाट पनि सहयोग भएको छैन ।’