• १४ माघ २०८२, बुधबार

अमेरिकामा आप्रवासन विवाद चर्किँदैः न्यूयोर्क होटलमा विरोध प्रदर्शन

blog

न्यूयोर्क, माघ १४ गते । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरको म्यानह्याटनमा रहेको एक होटलको भित्री हलमा विरोध प्रदर्शन हुँदा दर्जनौं मानिस पक्राउ परेका छन् । प्रदर्शनकारीले होटलमा सङ्घीय आप्रवासन अधिकारी बसिरहेको आरोप लगाउँदै विरोध जनाएका थिए र होटलले उनीहरूलाई आश्रय दिइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रदर्शन मङ्गलबार साँझ ट्राइबेका क्षेत्रमा रहेको होटलको लबीमा सुरु भएको थियो । विरोधमा सहभागी केही व्यक्तिले ‘होटलले सङ्घीय अधिकारीलाई राखेको छ’ भनी आफ्नो माग राखेका थिए । प्रदर्शनकारीलाई करिब ४५ मिनेटसम्म चेतावनी दिइयो कि लबी खाली गर्न, तर उनीहरूले आदेश मानेनन् । त्यसपछि सहरको प्रहरी विभागले क्रमशः प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर पक्राउ गरेको थियो ।

कम्तीमा ४० जना भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका जानकारी प्राप्त भएको छ । हालसम्म स्पष्ट छैन कि साँच्चिकै सङ्घीय अधिकारी होटलमा थिए कि थिएनन्, र सम्बन्धीत निकायले यसबारे जानकारी सार्वजनिक गर्ने योजना नरहेको बताएको छ । यो विरोध प्रदर्शनले देशको आप्रवासन नीतिप्रति बढ्दो असन्तुष्टि र सङ्घीय अधिकारीको गतिविधि प्रति आम जनताको आलोचना झल्काउँछ । रासस/एपी