• १४ माघ २०८२, बुधबार

नेकपामै आउन विप्लवलाई प्रचण्डको आग्रह

blog

काठमाडौँ, माघ १४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गर्नुभएको छ।

विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो।

उहाँले जेन्जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठुलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको बताउनुभयो। “हामीले नेपाली कम्युनिस्ट पार्टी यसै आवेगमा बनाएका होइनौँ। एकताको प्रक्रियामा तपाईंहरूले निकै ठुलो महत्त्व पाउँदै हुनुहुन्थ्यो,” प्रचण्डले भन्नुभयो।

समाजवादी मोर्चालाई नै नेपाली कम्युनिस्ट पार्टीको रूपमा अगाडि बढाउन चाहेको आफू र माधव नेपाले विप्लवलाई निकै ठूलो महत्त्व दिएको भएपनि एकताबाट विप्लव बिना कारण पछाडि हटेको उहाँको भनाइ थियो ।

एकतामा समावेस नभए पनि विप्लवप्रति आफ्नो कुनै घृणा वा आक्रोश नरहेको स्पष्ट पार्दै उहाँले नेकपा नै विप्लव समूहको वास्तविक घर भएको उल्लेख गर्नुभयो। “यताउता भड्किनुपर्ने कुनै आवश्यकता छैन। आजभोलि यताउता भड्किँदा केही हुनेवाला छैन,” उहाँको भनाइ थियो।

प्रचण्डले पुरानो सहयात्रीको नाताले आफूले विप्लवलाई माया र भरोसा गरेको बताउँदै आत्मसमीक्षा गरी नेकपामै फर्किन आग्रह गर्नुभयो । उहाँले अझै पनि नेकपामा समावेश भई अघि बढ्ने अवसर बाँकी रहेको बताउनुभयो। “यो आत्मसमिक्षा गर्ने बेला हो। तपाईंहरूको अवसर अझै गुमिसकेको छैन,” उहाँले भन्नुभयो।

सो क्रममा प्रचण्डले निर्वाचन नजिकिँदै गर्दा पनि देशको असहज परिस्थिति पूर्णरूपमा समाधान नभैसकेको उल्लेख गर्नुभयो। नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उहाँले देश फेरि अर्को दुर्घटनातर्फ जान सक्ने खतरा औँल्याउनुभयो।

प्रचण्डले पार्टीपङ्क्तिलाई एकताबद्ध भएर चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिनुभएको छ।