शेरबहादर सार्की
बाजुरा, माघ १४ गते । केही दिनअघिदेखि बाजुरा लगातार परेको भारी हिमपातका कारण यहाँको जनजीवन प्रभवित भएको छ । गत शुक्रबार, शनिवार र सोमबारमा परेको बाक्लो हिमपातका कारण यहाँको जनजीवन निकै प्रभावित बन्दै गएको हो ।
केही दिन यता बाहिर बाक्लो हिमपातका कारण यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई चरिचरन गर्न समेत निकै समस्या भएको हिमाली गाउँपालिका–६ पाडीका स्थानीय चिनबहादुर रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिउँदको महिना यहाँ त्यसै पनि धेरै चिसो हुन्छ । त्यसैमाथि अहिले गत शुक्रबारदेखि हिउँ पर्न सुरु भएपछि अहिले यहाँका स्थानीयलाई घर बाहिर निक्लन तथा गाई-भैँसी भेडाबाख्रालाई वनमा लिएर चराउन समेत गाह्रो भएको छ । ”
पाडी गाउँ यहाँको हिमाली भेग मुनी भएकोले र यहाँ थोरै पानी पर्ने वित्तिकै बाक्लो हिमपात पर्ने भएकोले अहिले यहाँका बयोवृद्ध बालबालिका र दमका बिरामीहरु प्रभावित हुने गरेको रावतले बताउनुभयो ।
बाजुरामा लगातार परेको हिमपातका कारण यहाँको जनजीवन प्रभावित हुने गरेको भएपनि यहाँका किसानले लगाएको हिउँदेबालीलाई भने राहत भएको छ ।
जिल्लामा परेको लामो समय खडेरीका कारण यहाँका किसानले लगाएको त्यो हिउँदेबाली गहुँ,जौ र तरकारीबालीलाई राहत भएको हो । यहाँ सिचाइको सुविधा छैन । हामी सधैँ आकासे पानीको भरमा हिउँदे खेती लगाउँने गर्छौं । पानी परेपछि त्यो बाली राम्रो हुन्छ । पानी नपरेपछि भने त्यो सबै सुक्छ । यती बेला पानीसँगै बाक्लो हिउँ परेपछि त्यो बालीलाई भने निकै राहत भएको हिमाली गाउँपालिका सथनीय जोगा रोकायले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कात्तिकदेखि माघको महिलो सातासम्म पानी नपरेपछि हिउँदे खेती सुक्छ । अनी वर्खाको समय के खाने भन्ने निकै चिन्ता भएको थियो । यतीबेला माघ १० गते रातीदेखि बाक्लो हिमपात परेपछि अब त्यो हिउँदे बालीलाई राहत भएको छ ।”
बाक्लो हिउँ परेपछि गहुँमा लाग्ने किरा समेत मर्ने र सिचाइको पनि आवश्यक नपर्ने भएकोले अब यो वर्ष हिउँदेबाली सप्रिने आश भएको रोकायाले बताउनुभयो ।
बाजुरामा विभिन्न राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसार कार्यक्रमलाई तीब्र पार्दै आएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा यहाँका दलहरुले आफ्नो उम्मेदवारलाई जिताउँने प्रयासका सात चुनावी मैदानमा रहेका हुन् ।
बाजुरामा केही दिन यता लगातारको हिमपातले दलहरुको त्यो चुनावी प्रचार प्रसार गर्ने कार्यक्रम भने प्रभावित बनेको छ । हिमाली भेगका गाउँ बस्ती बाक्लो हिमपातले छापिएपछि यहाँका राजनीतिक दललाई ती गाउँ बस्तीमा गएर चुनावी प्रचारप्रसार गर्न समस्या भएको हो ।
यहाँका धरै गाउँ बस्तीमा यती बेला विभिन्न दलका नेता तथा कार्यकर्ता आएर चुनावी प्रचार प्रसार गर्दै आएका छन् । गत शुक्रबारदेखि हाम्रो गाउँमा बाक्लो हिमपात परेकोले अहिले सम्म यहाँ कोही दलका उम्मेदवार भने आउने नगरेको रावलले बताउनुभयो ।