• १३ माघ २०८२, मङ्गलबार

चुनावी मैदानमा बाँकेका चार महिला उम्मेदवार

blog

कमल खत्री
धम्बोझी, माघ १३ गते ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि ५६ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । चुनावी दौडमा प्रतिस्पर्धा गर्ने अधिकांश पुरुष उम्मेदवार छन् । तर बाँकेमा चार जना महिलाले भने हिम्मतका लागि प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएको छ ।

बाँकेमा प्रतिनिधि सभा सदस्यका लागि महिला उम्मेदवार चुनावमा होमिएका छन् । पुरुष मात्रै राजनीतिमा सक्रिय हुन सक्ने र महिलाले नेतृत्व गर्न नसक्ने मानसिक्तालाई चिर्दै चार जना महिला प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा सहभागि भएका छन् । उम्मेदवार बनेका धेरै पुरुष उम्मेदवारकाबिच उम्मेदवारी दिँदै चार जना महिलाले निर्वाचन लड्ने साहस देखाएका छन् ।

बाँकेको क्षेत्र नम्बर १ बाट कृष्णा केसी (नमूना) तथा बाँके क्षेत्र नम्बर ३ बाट विद्या शर्मा, भूमि महतारा र भगवती शाहले उम्मेदवारी दिनुभएको छ । केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट, शर्माले आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट, महतारा नेपाल मजदुर किसान पार्टी र शाहले स्वतन्त्ररुपमा उम्मेदवारी दिनुभएको छ ।

बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी निवासी केसी लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । प्रतिनिधि सभा निर्वाचनमा सहभागि हुन उहाँले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सभा सदस्यका रुपमा रहँदा उहाँले थुप्रै योजनाहरु आफ्नो निर्वाचन क्षेत्रमा सम्पन्न गर्नुभएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट प्रदेश सभा सदस्य बन्नुभएकी केसीले पदमा रहँदा/नरहँदा जनताको सेवामा खटिएको दाबी गर्नुभयो ।

‘‘प्रदेश तहमा अनुभव भइसकेको छ, सङ्घीय संसदमा पुगेर जनताका मुद्दा अझ प्रभावकारीरूपमा उठाउने लक्ष्य छ ।’’ चुनावी मैदानमा उहाँले भन्दै आउनुभएको छ । केसीले आफ्नो उम्मेदवारी विकास, सुशासन र महिलाको अधिकारलाई केन्द्रमा राखेर अघि बढेको बताउनुहुन्छ । उहाँले प्रदेश सभामा रहँदा शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा काम गरेको दाबी गर्दै प्रतिनिधि सभामा पुग्दा त्यसलाई अझ व्यापक रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

२०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यमा बाँके क्षेत्र नम्बर १ मा तत्कालीन गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार केसी निर्वाचित हुनुभएको थियो । उहाँले एक हजार १३७ मतान्तरले विजय हासिल गर्नुभएको थियो । केसीले नौ हजार १०३ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नागरिक उनमुक्ति पार्टीका सोमराज चौधरीले सात हजार ९६६ मत पाउनुभएको थियो । यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका तीनै जना महिला स्थानीय स्तरमा चर्चित अनुहार हो ।

आम जनता पार्टीबाट उम्मेदवारी दिनुभएकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जैसपुरकी शर्मा स्थानीय स्तरमा सामाजिक अभियानमा सक्रिय हुनुहुन्छ । शर्मा जनताको दैनिक समस्या संसदमा पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुहुन्छ । उहाँले शिक्षा स्वास्थ्य लगायत स्थानीय मुद्दालाई उठाउँदै आउनुभएको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ सिर्जना टोल निवासी महत्तरा मजदुर किसान पार्टीको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले सामाजिक समस्या, मतभेद, उत्पीडनलगायतका मुद्दा उठाउँदै आउनुभएको छ । खासगरी तल्लो तहमा जीवन निर्वाह गर्ने जनताको समस्या आफ्नो मुद्दा हुने गरेको महत्तरा बताउँदै आउनुभएको छ ।

यसैगरी, बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ४ बानियाभार निवासी शाहले स्वतन्त्र रुपमा उम्मेदवारी दिँदै समाजको स्तरमाथि उकास्न आफु निर्वाचनमा होमिएको दाबी गर्दै आउनुभएको छ । जनताको वास्तविक समस्यालाई उठाएर सुसज्जित समाज निर्माण गर्न आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ ।

बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा ६० जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका सरस्वतीप्रसाद बर्मा र बिजयकुमार गुप्ता, क्षेत्र नम्बर ३ मा प्रदिप पौडेल र दिपक बहादुर शाही गरी चार जनाले उम्मेदावरी फिर्ता लिनुभएको छ । तीनवटै क्षेत्रमा उम्मेदवार फिर्ता भएसँगै क्षेत्र नम्बर १ मा १४ जना र क्षेत्र नम्बर २ मा २० जनाको उम्मेदवारी कायम भएको छ भने क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवार गरी जिल्लामा ५६ जना उम्मेदवार बनेका हुन् ।