• १३ माघ २०८२, मङ्गलबार

कर्णाली प्रदेशमा कुष्ठरोगका बिरामी बढेको बढ्यै

blog

कुष्ठरोगका बिरामीहरुलाई फलफूल वितरण गरिदैं ।

सुर्खेत समाचारदाता

सुर्खेत, माघ १३ गते । सरकारले नेपालबाट कुष्ठरोग निवारण गरिसकेको भए पनि कर्णालीमा बर्सेनि बिरामी थपिँदै गएका छन् । पाँच वर्षको अवधिमा कर्णाली प्रदेशमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्ने, नयाँ बिरामी पत्ता लाग्ने दर र उपचार पूरा गर्ने बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आव २०८२/८३ सम्मको अवधिमा नयाँ बिरामी थपिएका छन् ।

आव २०७७/७८ मा नयाँ बिरामी ६७ जना फेला परेका थिए भने त्यसपछि आव २०७८/७९ मा ६८ जना, आव २०७९/८० मा ७३ जना, आव २०८०/८१ मा ८० जना र आव २०८२/८३ मा ८३ जना कुष्ठरोगका बिरामी थपिएका छन् । बर्सेनि कुष्ठरोगका नयाँ बिरामी थपिएपछि अवस्था चिन्ताजनक बन्दै गएको निर्देशनालयका क्षयरोग तथा कुष्ठरोग फोकलपर्सन पदम केसीले बताउनुभयो । 

उहाँका अनुसार नयाँ बिरामी पत्ता लाग्ने दर पनि बढ्दै गएको छ । आव २०७७/७८ मा ३.६७ रहेकोमा त्यसपछि लगातार ४.०, ४.२, ४.७ र आव २०८२/८३ मा ४.८७ पुगेको छ । यसका साथै उपचारमा रहेका बिरामीको सङ्ख्या पनि बर्सेनि बढेको छ । सुरुमा ७७ बिरामी उपचारमा रहेकोमा त्यसपछि ८४ जना, ९२ जना, १०२ र आव २०८२/८३ मा १११ जना कुष्ठरोगका बिरामी उपचारमा रहेको जानकारी फोकलपर्सन केसीले दिनुभयो । साथै उपचार पूरा भएका बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । सुरुमा ६४ जनाले उपचार पूरा गएको बताउँदै उहाँले त्यसपछि ६८ जना, ६९ जना, ७६ जना र अहिले ७५ जनाले उपचार पूरा गरेको उल्लेख गर्नुभयो ।