जाजरकोट समाचारदाता
जाजरकोट, माघ १३ गते । यहाँको बारेकोट गाउँपालिको एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको छ । बारेकोटदेखि जिल्ला, प्रदेश हुँदै काठमाडौँसम्मको निर्धारण गरेको भाडादर बढी भएको भन्दै स्थानीयस्तरमा विरोध भएको छ । गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत गरेको एम्बुलेन्स भाडादर जनताको पहुँचभन्दा बाहिर रहेको भन्दै सर्वसाधारण आक्रोशित भएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन गिरीले दस्तखत गरेको सूचना अनुसार बारेकोट–लिम्सादेखि काठमाडौँसम्म एम्बुलेन्स भाडा ७० हजार रुपियाँ तोकिएको छ । त्यस्तै चितवनसम्म ६० हजार, नेपालगन्जसम्म २४ हजार, कोहलपुरसम्म २३ हजार, सुर्खेतसम्मको २१ हजार रुपियाँ तोकिएको छ । त्यस्तै छिमेकी तथा नजिकका गन्तव्यतर्फ समेत भाडादर अस्वाभाविक रूपमा उच्च रहेको जनगुनासो छ ।
स्थानीयका अनुसार जाजरकोट–खलङ्गा १० हजार, चौरजहारी १२ हजार, दल्ली पाँच हजार, राडी छ हजार भाडा तोकिएको छ । आफ्नै पालिकाभित्र रहेका रामीडाँडा दुई हजार, बेर्ना तीन हजार, जिरी चार हजार पाँच सय, सिलिङ्गी दुई हजार, घर्तीगाउँ र पातिहाल्ना चार/चार हजार रुपियाँ भाडा तोकिएको छ । विपन्न तथा ग्रामीण क्षेत्रका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवामा यति महँगो भाडादरले जनताको जीवनसँग खेलबाड भएको स्थानीय कालीबहादुर नेपालीको आरोप छ । उहाँले बिरामी बोकेर अस्पताल लैजाने एम्बुलेन्स भाडा नै ऋणको भारी बोकाउने माध्यम बनेको बताउनुभयो ।
यस्तै सामाजिक अभियन्ता टबिन कार्कीले सो भाडादर पुनरवलोकन गर्न माग गर्नुभयो । स्थानीय जनप्रतिनिधि तथा अन्यले पनि भाडादर बढी भएकाले घटाउन आग्रह गरेका छन् । उनीहरूका अनुसार आफ्नै पालिकाभित्र समेत चार हजार भाडादर कायम हुनु भनेको विपन्न जनताले उपयोग नगरून् भन्ने देखिएको छ ।
यता गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले कर्मचारीले एम्बुलेन्स सञ्चालन निर्देशिका अनुसार सो भाडादर कायम गरेको भनि आफूले सुनेको र जनताको गुनासोपछि तत्काल सो भाडादर परिवर्तन हुने बताउनुभएको छ । यस विषयमा गाउँपालिका प्रशासनले भने भाडादर दुरी, इन्धन खर्च, मर्मतसम्भार र चालक खर्चलाई आधार मानेर निर्धारण गरिएको दाबी गरेको छ ।