हुम्ला समाचारदाता
हुम्ला, माघ १३ गते । कर्णाली कोरिडोरको सिमकोट–खार्पु खण्डको सिमकोट गाउँपालिका–५, कालाढुङ्गाको सडक सुचारु भएको छ । गत शुक्रबार राति परेको हिउँ सडकमा जमेपछि यातायात सेवा बन्द भएको सो खण्ड स्थानीय युवा र प्रहरी मिलेर पन्छाएपछि यातायात सेवा सञ्चालन गरिएको हो ।
हिमपातपछि चिसो अत्यधिक बढ्दा सडकको हिउँ बरफमा परिणत भएपछि आइतबार रातिदेखि सो सडक अवरुद्ध भएको थियो । सडकमा जमेको हिउँ र बरफ फुटाउने कार्यमा खटिएको स्थानीय युवा रोहित रोकायाले बताउनुभयो । सडकमा जमेको बरफ स्थानीय युवा र प्रहरी मिलेर फुटाउने कार्य भएको बताउँदै यसका लागि प्रहरीलाई रोकायाले धन्यवाद दिनुभयो । सडकमा बरफ जमेपछि बसहरू रातभर सो स्थानमा यात्रुसहित रोकिएका थिए । चिसोमा निकै सास्ती खेपेर यात्रुले रात बिताउनु परेको थियो ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले सडक अवरुद्ध भएको खबर पाएपछि सात जना प्रहरी हिउँ जमेको सडकमा पुगेका थिए । साढे दुई घण्टा प्रहरी र स्थानीय युवा मिलेर सडकमा जमेको हिउँ फुटाएर सफा गरेपछि बिहान ९:३० बजेबाट यातायात सञ्चालन गरिएको उहाँले बताउनुभयो । सडक सफा गरिएपछि बस, बोलेरो जिप, ट्रक, ट्याक्टर सदरमुकामतर्फ आएका थिए ।
स्थानीय युवाको समन्वयमा सडकमा जमेको हिउँ फुटाएर यातायात सेवा सुचारु गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । सो खण्डको सडक खोल्सामा भएका कारण घाम नलाग्ने हुँदा हिउँ जमेर बरफमा परिणत भएको थियो ।