• १३ माघ २०८२, मङ्गलबार

संसद्तर्फ सोझिँदै पर्यटन व्यवसायी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिकर्मीसँगै फरक पेसा र व्यवसायमा आबद्ध पर्यटन व्यवसायी विभिन्न दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारका रूपमा सहभागी हुँदै हुनुहुन्छ । निर्वाचनमा पुरानो राजनीतिक विरासत बोकेका र नयाँ पार्टीबाट व्यावसायिक घराना र उद्यमीसँगै पर्यटन व्यवसायीसमेत निर्वाचनमा होमिनुभएको छ । पर्यटन क्षेत्रको विकासका लागि कार्यान्वयनयोग्य योजनासहित जनमत प्राप्त गर्न उद्योगपतिदेखि हिमाल आरोहीसम्म चुनावी मैदानमा हुनुहुन्छ । पर्यटनलगायत विविध क्षेत्रमा अर्बौंको लगानी रहेका नेपाली कांग्रेसका नेता विनोद चौधरी नवलपरासी–१ (बर्दघाट सुस्ता पश्चिम) बाट प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । उहाँ अघिल्लो निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्याङ्जा–१ बाट चुनाव लडेर पहिलो पटक संसदीय निर्वाचन लड्दै हुनुहुन्छ । त्यस्तै पेसाले पर्यटन व्यवसायी रहनुभएका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष रमेशप्रसाद धमला नेपाली कांग्रेसबाट धादिङ–२ को उम्मेदवार बन्नुभएको छ । पर्यटन व्यवसायी कृष्ण रिजाल कांग्रेसबाटै धादिङ–१ मा उम्मेदवार बन्नुभएको छ । पर्यटन व्यवसायी प्रेम खत्री नेपाली गोरखा–१ मा कांग्रेसबाट उम्मेदवार बन्नुभएको छ । मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा पर्यटन व्यवसायी योगेश गौचन थकाली नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उद्योग, होटेल, निर्माण र ऊर्जा व्यवसायमा लगानी रहेका कृष्णकुमार (किसान) श्रेष्ठ बारा–४ मा उम्मेदवार बन्नुभएको छ । उहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बन्नुभएको हो ।

त्यस्तै गरी पर्यटन तथा ट्राभल व्यवसाय आबद्ध भगीरथ सापकोटा–नेकपा (एमाले) का तर्फबाट नवलपुर–१ उम्मेदवार बन्नुभएको छ । होटेल व्यवसायमा रहनुभएका सुमन साय्मी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट काठमाडौँ–८ को उम्मेदवार बन्नुभएको छ । ट्राभल, ट्रेकिङ सर्भिस, होटेलसहितका व्यवसायमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डिपी अर्याल काठमाडौँ–९ बाट चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । हिमाल आरोही मिङ्मा शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सङ्खुवासभामा निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ ।