• १३ साउन २०८१, आइतबार

बच्चामा कुपोषण हुन नदिन सुत्केरी महिलालाई भत्ता

blog

त्रिवेणी –८ कालापानीकी सुत्केरी महिला मञ्जु विकलाई अध्यक्ष गगनजङ्ग बुढा प्रोत्साहन सुत्केरी भत्ता विरतण गर्नुहुँदै । तस्बिर: शेरबहादुर सार्की

बाजुरा, असार ३१ गते । बाजुराको त्रिवेणी नगरपालिकाको वडा नं –८ ले वडाका एकल तथा विपन्न परिवारका महिलालाई प्रोत्साहन गर्न सुत्केरी भत्ता वितरण गरेको छ ।

आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सो वडाले त्यहाँका एकल तथा विपन्न परिवारका महिलालाई प्रोत्साहन स्वरूप सुत्केरी भत्ता वितरण गरेको हो । त्रिवेणी नगरपालिका –८ वडा अध्यक्ष गगनजङ्ग बुढाले, आर्थिक स्थिति कम्जोरका कारण सुत्केरी महिलाले बच्चा गर्भमा हुँदा पौष्टिक आहाराका खानेकुरा खान नपाएका महिलाहरुकै बच्चामा कुपोषण देखा परेपछि यो हटाउन भत्ता वितरण गरेको बताउनुभयो ।

वडा अध्यक्ष बुढाले भन्नुभयो, कुपोषण प्राय घर, जग्गा जमिन नभएको वा आर्थिक स्थिति कमजोर भएका परिवारका बालबालिकाहरुलाई देखापरेको छ । अहिले यस्तो परिवारका महिला तथा बालवालिकाको स्वास्थ्यमा सुधार ल्याउने गरी बाख्रा, कुखुरा, तरकारी खेती गर्ने गरी उनीहरुलाई अनुदान कार्यक्रम ल्याउने वडाले योजना बनाएको बताउनुभयो ।

त्रिवेणी नगरपालिका –८ का आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द थापाले, आर्थिक स्थिति कम्जोर भएको परिवारको सुत्केरी महिला तथा उनीहरुको बालबालिकाहरुको स्वास्थ्य जाँच गर्दा पौष्टिक आहारको कमीका कारण कुपोषण देखापरेको बताउनुभयो । उहाँका अनुसार, अहिले त्रिवेणीको झालगाउँ , कालापानी लगायतका केही टोलमा झण्डै ७ जनामा बालबालिकामा कुपोषण देखिएका छन् ।

त्रिवेणी नगरपालिका –८ कालापानीकी  सुत्केरी महिला मञ्जु विकले, आफुसँग न त घर छ न त कमाइ खाने जमिन नै छ, बिहान बेलुकाको छाक टार्न धौ धौ हुन्छ, अनि कहाँबाट पौष्टिक आहारका खाने कुरा खान पाउनु उहाँले बताउनुभयो ।

उहाँका अनुसार, वडाबाट यती बेला थोरै भए पनि आर्थिक सहयोग मिलेको छ ,यसले केही दिन भए पनि अण्डा, मासु, माछा, तरकारी ,फलफूल जस्ता पौष्टिक आहार खान पुग्छ, जसका कारण आफू र बच्चाको स्वास्थ्यमा केही सुधार आउने आश गरेको उहाँले बताउनुभयो ।

सुत्केरी महिलाको आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने गरी अहिले त्रिवेणी नगरपालिकाको वडा कार्यालयले सुत्केरी भत्ता दिन थालेपछि त्यहाँका महिला दिदीबहिनीहरुको मुहारमा खुसी छाएको विकले बताउनुभयो । आधारभूत स्वास्थ्यले यस्ता महिलाको परिचान गरेपछि उनीहरुलाई यो वर्ष देखि नै आधारभूत स्वास्थ्य केन्द्रमै सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्दै आएको अध्यक्ष बुढाले बताउनुभयो ।

वडाका १५ जना सुत्केरी महिलाको स्वास्थ्य परीक्षण गर्दा तीन जना महिलाको स्वास्थ्य निकै कमजोर देखिएको र उनीहरुको बच्चामा पनि कुपोषण भएकोले उनीहरुलाई अहिले प्रोत्साहन स्वरुप एक जनालाई पाँच हजारको दरले रकम वितरण गरेको छ ।

यस्ता महिलाको आर्थिक स्थिति बलियो पार्ने गरी एकल महिलालाई बाख्रा, कुखुरा ,तरकारी खेती गर्न बीउ वितरण गर्दै आएको अध्यक्ष बुुढाले बताउनुभयो ।

Author

शेरबहादुर सार्की