काठमाडौँ, माघ १२ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जना निजामती कर्मचारी खटाउने गरी कर्मचारी व्यवस्थापन गरिरहेको छ ।
पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन स्वयंसेवकसहित नौ कर्मचारी खटाउने तयारी आयोगको छ ।
त्यस्तै पाँच सय जनासम्म मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवकसहित आठ जना कर्मचारी खटाउने गरी आयोगले कर्मचारी व्यवस्थापनको काम गरिरहेको छ । अस्थायी मतदान केन्द्रका लागि भने एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवकसहित पाँच जना कर्मचारी खटाउने व्यवस्था छ । अहिले देशभर २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ती सबै मतदान केन्द्रमा आयोगले कर्मचारी खटनपटन गर्दा करिब दुई लाख १३ हजार जना आवश्यक पर्ने छ । उहाँले भन्नुभयो, “निजामती कर्मचारी पुगेसम्म निजामती नै तर निजामती कर्मचारी अपुग हुँदा सामुदायिक विद्यालयका शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीसमेत खटाउने तयारी अयोगले गरिरहेको छ ।”
आयोगले ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ वटा निर्वाचन अधिकृतको कार्यालय, ७७ वटा जिल्ला निर्वाचन कार्यालय, सात वटा प्रदेश निर्वाचन कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नु पर्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्भव भएसम्म जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतको कार्यालयमा न्याय सेवाका उपसचिवस्तरका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतस्तरका र सात प्रदेश निर्वाचन कार्यालयमा उपसचिवस्तरका कर्मचारीको नेतृत्वमा कर्मचारी खटनपटन गर्ने र मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयले अन्तर्गतका मतदान केन्द्रमा कर्मचारी खटनपटन गर्ने काम आयोग गरिरहरेको छ ।
अपुग छैनन् कर्मचारी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्याप्त कर्मचारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अहिले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन वटै तहमा पर्याप्त कर्मचारी भएकाले आयोगलाई कर्मचारी आवश्यक पर्दा मन्त्रालयले कर्मचारी पूर्ति गर्न सक्ने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका सचिव चन्द्रकला पौडेलले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले निर्वाचन प्रयोजनका लागि निजामती कर्मचारी आवश्यक पर्दा मन्त्रालयले तत्काल कर्मचारी पूर्ति गर्ने गरी मन्त्रालयले तयारी गरिरहेको बताउनुभयो । सङ्घीय तहमा मात्र कर्मचारी नभएर प्रदेश र स्थानीय तहका कर्मचारीलाई समेत आयोगले निर्वाचनका लागि खटाउन सक्ने भएकाले कर्मचारीको समस्या नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।
निर्वाचन आयोगलाई तत्काल कुनै विशेषज्ञ कर्मचारी आवश्यक परे सम्बन्धित कार्यालयबाट आफैँसमेत निर्वाचनमा खटाउन सक्ने अधिकार आयोगलाई भएकाले निर्वाचनका लागि कर्मचारीको अभाव नहुने पौडेलले बताउनुभयो ।
आयोगले अहिले मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा कर्मचारी खटनपटन गरिसकेको छ भने मतदान केन्द्रमा निर्वाचनको केही समयअघि मात्र कर्मचारी खटाउने तयारी गरिएको आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो । सङ्घीय, प्रदेश र स्थानीय गरी तीन वटै सेवामा गरी दुई लाख ५० हजारभन्दा बढी कर्मचारी रहेका छन् भने करार सेवामा समेत गर्दा करिब तीन लाख हाराहारी निजामती कर्मचारी कार्यरत रहेको अनुमान राष्ट्रिय किताबखाना (निजामती) ले गरेको छ ।