• ७ जेठ २०८१, सोमबार

सीमा क्षेत्रमा सुरक्षाको चिन्ता

blog

पशुपतिनगर (इलाम), असार ३१ गते । पशुपतिनगरका स्थानीय मिलन क्षेत्रीलाई सधैँ सिमानाको समस्याले पिरोली रहन्छ । सिमाना सम्बन्धी बोल्नु परेमा उहाँ धक फुकाएर बोल्ने गर्नुहुन्छ । इलाम जिल्लाको नेपाल–भारत ५२ दशमलव ५ किलोमिटर सिमानाको अवस्था क्षेत्रीलाई एक–एक याद छ । उहाँ भन्नुहुन्छ, “सिमानाको पीडा सिमानामै बसेर गरी खानेलाई मात्र थाहा हुन्छ, माथिका त आउँछन् घुमेर जान्छन् ।”

खुला सीमा नाका भएका कारण हुने मानव तस्करी, चोरी निकासी, अवैध कारोबार र मुख्य रूपमा भारतीय पक्षले सिमानामा नेपालीमाथि ज्यादती गर्ने गरेको समस्या स्थानीयको छ । इलामको सीमावर्ती पशुपतिनगरमा प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको ‘सुरक्षित सीमा, सुरक्षित जीवन’ कार्यक्रममा सहभागी अधिकांशले सिमानाका समस्याका चाङ रहेको बताएका छन् ।

माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले खुला सीमा नाका भएका कारण मुख्य नाकामा जति कडाइ गर्दा पनि चोर बाटोबाट दलालले मानव तस्करी गर्ने गरेको बताउनु भयो । उहाँले नेपालमा रोजगारीको अभावमा भारतमा गएर रोजगारी पाउने प्रलोभनमा परी नेपाली महिला भारतीय कोठीमा पुग्ने गरेको बताउनुभयो । “स्थानीयकै प्रयोग गरेर दलालले मानव तस्करी गर्न थालेपछि हामीलाई थप चुनौती थपिएको छ,” उहाँले भन्नुभयो । 

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी)का सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीले नेपालतर्फ भन्सार र अध्यागमन कार्यालय भए पनि भारततर्फ भन्सार र अध्यागमन नहुँदा नेपालीहरूले निकासी पैठारीमा चरम समस्या झेल्नु परेको बताउनुभयो । सप्रनि ओलीका अनुसार इलामको नेपाल–भारत सीमा क्षेत्रमा रहेका २०९ वटा सीमा स्तम्भमध्ये ९९ वटा हराएका छन् । केही सीमा स्तम्भ जीर्ण भएका छन् । उहाँले केही स्थानमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमि मिचेको र केही स्थानमा नेपालीले समेत भारतीय भूमि मिचेर संरचना निर्माण गरेकाले दोहोरो सर्भे गर्न आवश्यक रहेको बताउनुभयो । छब्बीसे, हिले, पुल खोला सन्दकपुरलगायतका स्थानमा एसएसबीले नेपाली भूमि अतिक्रमण गरेको छ ।  

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बलराम गिरीले दैनिक पशुपतिनगरबाट ६४ हजार किलोग्राम इस्कुस भारत निकासी हुने गरेको भए पनि भारतीय पक्षले इस्कुस निकासीमा बेलाबेला अवरोध गर्ने गरेको बताउनुभयो । उहाँले खुला सीमा नाका भएका कारण नेपालमा अपराध गरी भारतलाई सुरक्षित गन्तव्य बनाउने क्रम बढेको जानकारी दिनुभयो । पशुपतिनगर भन्सारसहित इलाम र पाँचथरका सीमावर्ती क्षेत्रमा आठवटा छोटी भन्सार रहे पनि अहिले काम विहीन अवस्थामा छन् । भन्सार प्रमुख देव घिमिरेले सिमानामा प्लान्ट क्वारेनटाइनसम्म नहुँदा समस्या झेल्नु परेकाले माथिल्लो निकायले पहल गर्नुपर्ने बताउनुभयो । 

सीमा क्षेत्रमा नेपालतर्फका सडकको अवस्था नाजुक हुनु र भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले सीमावासीलाई सधैँ समस्या पर्ने गरेको कार्यक्रमका सहभागीले बताएका छन् । सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले अन्तरदेशीय समस्याका रूपमा सीमा समस्या रहेकाले तीनै तहका सरकारको समन्वयमा समाधानको पहल गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, “स्थानीय सरकारले भएका गतिविधि जानकारी गराउने हो, प्रदेश र सङ्घीय सरकारले समाधान गर्ने हो ।”

प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख ओमकारप्रसाद न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै नेपाल भारत सीमा क्षेत्रमा तारबार नहुँदा समस्या भएको जानकारी दिनुभयो । उहाँले प्रदेश १ को सीमा क्षेत्रमा प्रदेश सरकारले १३ वटा सशस्त्र प्रहरीको बीओपी र ४९ वटा  नेपाल प्रहरीको भवन निर्माणमा सहयोग गरेको बताउनुभयो । “सिमानामा प्रविधिको प्रयोग गर्दै संरचना निर्माणमा ध्यान दिनुपर्ने देखियो,” उहाँले भन्नुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले प्रदेश १ को ८ जिल्लामा अन्तरदेशीय सीमा समस्या रहेको जानकारी दिँदै स्थानीयको सुझाव सङ्कलनका आधारमा समाधानका लागि सङ्घीय सरकारलाई आग्रह गरिने बताउनुभयो । “सिमानामा सुरक्षा कायम गर्न हामी प्रतिबद्ध भएर लाग्छाँै, स्थानीयले साथ र सहयोग दिनुपर्छ,” उहाँले भन्नुभयो । स्थानीयले छिटोभन्दा छिटो सीमा नाका समस्या समाधान गर्न माग गरेका छन् । 


Author

प्रेम अधिकारी