सिराज खान
नेपालगन्ज, माघ ११ गते । बाँके जिल्लाको डुडुवा गाउँपालिकाले पालिकाभित्रका नागरिकसँगै वन्यजन्तुलाई पनि विशेष ध्यान दिँदै आएको छ । नागरिकका लागि विभिन्न योजना सञ्चालन गर्दै आएको सो पालिकाले गौशालामा रहेका चौपायाहरु चिसोबाट समस्यामा रहेको जानकारी पाएपछि उनिहरुलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ ।
चिसो मौसमबाट छाडा चौपायालाई जोगाउन गौशालामा न्यानो कम्बलको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले वडा नम्बर ५ कम्दीस्थित बनक्षेत्रको छेउमा रहेको गौशालामा रहेका छाडा गाई–गोरु, बाच्छा–बाच्छीलाई चिसोबाट जोगाउन न्यानो कम्बल र कपडा ओढाएर गोठमा सुरक्षित रूपमा राखिएको जनाउनुभयो ।
गाउँपालिका अध्यक्ष चौधरीका अनुसार हाल गौशालामा रहेका करिब ५० वटा गाई, बाच्छा, बाच्छी र गोरुलाई चिसोबाट बचाउन न्यानो कम्बल उपलब्ध गराइएको छ । चिसो बढ्दै गएपछि पशुहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै गोठभित्र न्यानो वातावरण बनाइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका अनुसार गौशालामा पराल र भुससहितको चाराको व्यवस्था गरिएको छ । पशुहरूको नियमित निगरानी र हेरचाहका लागि एक जना जनशक्ति पनि खटाइएको छ ।
अध्यक्ष चौधरीले पालिका आसपासका क्षेत्र तथा भारतीय नाकाबाट आएका छाडा चौपायालाई समेत गौशालामा राखेर संरक्षण गरिएको बताउनुभयो ।
गाउँपालिकाको प्राविधिक शाखाका मदनेश्वर झाले चौपायाका लागि गौशालाका कर्मचारी दामोदर यादवलाई ५० वटा न्यानो कम्बल हस्तान्तरण गर्नुभएको छ । डुडुवा गाउँपालिकाले निर्माण गरेको सो गौशालाको दुई वटा गोठमा करिब एक सय वटा पशु राख्न सक्ने क्षमता रहेको गौशालाका कर्मचारी दामोदर यादवले बताउनुभयो ।
स्थानीय तहको यस पहलले छाडा चौपायाको संरक्षण र पशु कल्याणप्रति जिम्मेवार स्थानीय शासनको अभ्यासलाई प्रत्यक्ष रुपमा देखाएको स्थानीय नागरिकको भनाइ छ ।