• ११ माघ २०८२, आइतबार

सहिद दिवसः दोस्रो दिन सहिद स्मारक परिसरमा सरसफाइ

blog

सहिद दिवसको दोस्रो दिन आइतबार हेटौँडा ११ स्थित सहिद स्मारक परिसरमा सरसफाइ गरिँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, माघ ११ गते ।
सहिद दिवस–२०८२ को दोस्रो दिन हेटौँडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारक परिसरमा सरसफाइ गरिएको छ । यस वर्षको सहिद दिवस सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने क्रममा आइतबार बिहान सहिद स्मारक परिसरमा सरसफाइ गरिएको हो ।

सहिद स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले सहिद सप्ताह २०८२ विभिन्न सरकारी तथा गैर निकायहरुसँगको समन्वय र सहकार्यमा साताव्यापी रुपमा १६ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने क्रममा स्मारक परिसरमा सरसफाइ गरिएको बताउनुभयो ।

साताव्यापी कार्यक्रमअन्तर्गत सोमबार समितिको वार्षिक साधारणसभा र हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को व्यवस्थापनमा सहिद स्मारक र विद्यार्थीहरुबिच अन्तरक्रिया कार्यक्रम गरिनेभएको छ ।

त्यस्तै, माघ १३ गते नेपाल रेडक्रस सोसाईटी हेटौँडा–११ को समन्वयमा स्मारक परिसरमा रक्तदान कार्यक्रम, माघ १४ गते हेटौँडा–१२ स्थित प्रथम सहिद लखन थापा बाटिकामा श्रद्धान्जली कार्यक्रम, माघ १५ गते मदन भण्डारी फाउन्डेसन मकवानपुरको व्यवस्थापनमा सहिदको सपना र नवयुवाको कर्तव्य विषयक माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने गरी कार्यक्रम तय भएको छ ।

सहिद सप्ताहको अन्तिम दिन माघ १६ गते बागमती प्रदेश सरकारको समन्वयमा प्रभातफेरी, सहिदप्रति सलामी, माल्यार्पण, श्रद्धान्जली सभा, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण र समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिनुभयो ।

यसअघि सप्ताहको पहिलो दिन शनिबार सहिद स्मारक विकास समिति परिसरमा सहिद दिवसमा साताव्यापी रुपमा गरिने विभिन्न कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।