जलेश्वर समाचारदाता
जलेश्वर, माघ ११ गते । महोत्तरीको सीमावर्ती क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रका मतदाता फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उत्साहित भएका छन् ।
महोत्तरीका संवेदनशील मतदान केन्द्रको शनिबार स्थलगत अनुगमनका क्रममा सीमावर्ती ग्रामीण क्षेत्रका मतदातामा ज्यादै नै उत्साह देखिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
प्रजिअ यादवले भन्नुभयो, “हामी जिल्लाका सम्पूर्ण सुरक्षा निकायसहित सीमावर्ती र बढी जोखिममा रहेका जिल्लाको ग्रामीण क्षेत्रका मतदान केन्द्र अनुगमन गर्न जाँदा मतदातामा ज्यादै नै उत्साह देख्यौँ । निर्वाचन क्षेत्र नं. ३ र ४ को सीमावर्ती क्षेत्रमा पर्ने एक दर्जनभन्दा बढी मतदान केन्द्रमा पुग्दा मतदाताले निर्वाचनका लागि हामी उत्साहित रहेको सुनाएका छन् । यो आउँदो चुनावको लागि एकदमै सकारात्मक सन्देश हो ।”
उहाँले भन्नुभयो, “अनुगमनका क्रममा दशगजामै पर्ने कतिपय मतदान केन्द्र सुरक्षाका लागि संवेदनशील देखिएको छ । त्यसै अनुसार सुरक्षा योजना तयार पार्ने उद्देश्यका साथ जिल्लाका सम्पूर्ण सुरक्षा निकायसहित अनुगमन गरेका हौँ ।” निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन प्रशासनले सीमाक्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै निरीक्षण अनगुमन तदारुकताका साथ अगाडि बढाएको प्रजिअ यादवले स्पष्ट पार्नुभयो ।
अनुगमन टोलीले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा प्रबन्ध, मतदाताको सहज पहुँच तथा आवश्यक पूर्वतयारीको अवस्थाबारे जानकारी लिएका थिए । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षाकर्मीको उपस्थिति, आवतजावतबारे समेत अवलोकन गरिएको हो ।
उहाँका अनुसार सीमावर्ती क्षेत्रमा मात्र नभई जिल्लाको दुर्गम क्षेत्रका मतदान केन्द्रको पनि यसै गरी नियमित अनुगमन गरेर निर्वाचनलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाइने बताउनुभयो ।
खुला सीमा भएकाले सीमावर्ती मतदान केन्द्रमा हुन सक्ने विभिन्न खालको अपराध र अवरोध गर्नेलाई समेत निगरानी बढाउने गरी अनुगमन थालिएको जनाइएको छ ।