नेपालगन्ज समाचारदाता
नेपालगन्ज, माघ ११ गते । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न वितरण गरेसंगै बाँकेमा उम्मेदवार निर्वाचनको प्रचारप्रसारमा लागेका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले जनताको घरदैलोमा पुग्ने योजना बनाएर घरदैलो अभियानलाई औपचारिक रूपमा सुरु गरिसकेका छन् । बाँकेको क्षेत्र नं. १ र क्षेत्र नं. २ मा पुराना उम्मेदवारलाई यस पटक नयाँ उम्मेदवारले कडा चुनौती दिने स्थानीय मतदाताको भनाइ छ ।
क्षेत्र नं. १ मा एमालेबाट उम्मेदवार बन्नुभएका निवर्तमान सांसद सूर्य ढकाललाई नेपाली कांग्रेसका नारायण गौडेल, नेपाली कम्युनिस्ट पार्टीका नरेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश चौधरीले कडा टक्कर दिने देखिएको छ ।
ढकालसँगै सो क्षेत्रमा उम्मेदवार बन्नुभएका गौडेल नेपाली कांग्रेस बाँकेका सभापति हुनुहुन्छ भने पाण्डे पनि नेकपाको बाँके संयोजक हुनुहुन्छ । गौडेल र पाण्डे दुवैको यो क्षेत्रमा राम्रो पकड भएको बताइन्छ । गत निर्वाचनमा नागरिक उन्मुक्ती पार्टीबाट उम्मेदवार बनेर राम्रो मत ल्याउनुभएका चौधरी यस पटक रास्वपाबाट उम्मेदवार बन्नुभएको छ ।
लगातार दोस्रो पटक प्रतिनिधि सभामा पुग्ने दाउमा रहनुभएका एमालेका ढकाललाई यस पटक गत निर्वाचन जस्तो सहज नभएको कोहलपुरका स्थानीय रमेश थापाले बताउनुभयो । उहाँले यस पटक कांग्रेस, नेकपा र रास्वपाका उम्मेदवारले ढकाललाई निकै कडा टक्कर दिने देखिएको बताउनुभयो । क्षेत्र नं.१ मा यस पटक १६ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहनुभएको छ ।
त्यसै गरी क्षेत्र नं. २ मा पनि पुरानालाई नयाँले कडा टक्कर दिने आकलन गरिएको छ । दुई पटक सांसद र तीन पटक मन्त्री भइसकेका मोहम्मद इस्तियाक राईलाई एमालेले यस पटक यो क्षेत्रबाट उम्मेदवार बनाएको छ ।