तम्घास समाचारदाता
तम्घास (गुल्मी), माघ ११ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. १ मा मुख्य दलबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । केन्द्रीयस्तरमा नै प्रभावशाली नेताका रूपमा स्थापित मुख्य दलका नेताबिच नै प्रतिस्पर्धा हुने भएकाले गुल्मी क्षेत्र नं. १ को निर्वाचनलाई जिल्लाबाहिरबाट पनि विशेष रूपमा हेरिन थालिएको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीबिच विगतदेखि नै यस क्षेत्रमा प्रतिस्पर्धा हुँदै आएको छ । उहाँहरूबिच आलोपालो जस्तै बन्ने गरेको यस क्षेत्रमा अहिलेको निर्वाचनलाई भने थप महत्वका साथ हेरिएको छ ।
यस क्षेत्रबाट २०६४ सालदेखि निरन्तर निर्वाचनमा सहभागी हुँदै आएका भण्डारी २०७० र २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७९ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन भएर उहाँ निर्वाचित हुनुभएको थियो ।
देशको राजनीतिमा लामो समयदेखि सक्रिय ज्ञवाली २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा सम्पन्न निर्वाचनमध्ये २०५६, २०६४ र २०७४ सालमा निर्वाचित हुनुभयो । दुई पटक मन्त्रीसमेत भइसकेका ज्ञवाली कांग्रेस नेता डा. चन्द्र भण्डारीसँग पालैपालो निर्वाचित हुने नेताका रूपमा परिचित हुनुहुन्छ । गत निर्वाचनमा एक हजार ५९२ मतान्तरले ज्ञवालीलाई भण्डारीले पछाडि पार्दै जित हासिल गर्नुभएको थियो । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याउनुभएको थियो ।
यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बराल उम्मेदवार बन्नुभएको छ । बराल २०६४ सालमा संविधान सभा सदस्य र २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । जिल्लामा अनुभवी र पुराना नेताका रूपमा परिचित बरालको उपस्थितिले वाम मत विभाजनमा समेत प्रभाव पार्ने आकलन गरिएको छ ।
यस पटक नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बलियो उपस्थिति जनाउने तयारी गरेको छ । २०७९ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर चर्चामा आएका सागर ढकाल गुल्मी क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुभएको छ । ढकालको उम्मेदवारीले विशेष गरी युवा र परिवर्तन चाहने मतदातालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार जिल्लामा कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नं. १ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नं. २ मा एक लाख सात हजार ३६३ मतदाता रहेका छन् । जिल्लाभर १४५ मतदान केन्द्र र २८४ मतदान स्थल तोकिएको छ ।