• ११ माघ २०८२, आइतबार

पूर्वमन्त्रीलाई नयाँको टक्कर

blog

धनगढी समाचारदाता

धनगढी, माघ ११ गते । कैलालीमा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार भएका पूर्वमन्त्रीसँगको प्रतिस्पर्धामा नयाँ उम्मेदवार उत्रिएका छन् । 

विभिन्न दलले पूर्वमन्त्रीको प्रतिस्पर्धामा नयाँ उम्मेदवार उठाएका हुन् । पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चार वटा निर्वाचन क्षेत्रमा एक/एक जना पूर्वमन्त्री निर्वाचन लड्दै हुनुहुन्छ । कैलाली–१ मा नेपाली कांग्रेसले पूर्वराज्यमन्त्री जनकराज चौधरीलाई उम्मेदवार बनाएको छ । २०७० सालको निर्वाचनमा तत्कालीन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट चौधरीले ११ हजार २९४ मत प्राप्त गरी सोही क्षेत्रबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डङ्गौरा थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवाली र उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीको पूर्वराज्यमन्त्री चौधरीले चुनौती सामना गर्नुपर्ने छ । उहाँहरू प्रतिनिधि सभाको निर्वाचनका लागि नयाँ अनुहार हुनुहुन्छ । 

यसै गरी क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री गौरीशङ्कर चौधरीलाई नेकपा (एमाले) ले उम्मेदवार बनाएको छ । २०७४ सालमा तत्कालीन माओवादीबाट चुनाव जितेका उहाँ कृषि तथा पशुपन्छी एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुनुभएको थियो । दुई पटक मन्त्री भइसकेका चौधरीलाई यस पटक नेपाली कांग्रेसका भीम बडुवाल, नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरी, नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीलगायतका उम्मेदवारको चुनौतीको सामना गर्नुपर्ने छ  । 

यसै गरी क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) बाट पूर्वमन्त्री लेखराज भट्ट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रायः सबै जसो निर्वाचनमा सो क्षेत्रबाट पटक पटक टिकट पाएका भट्ट यसअघि संविधान सभा सदस्य र प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ वाणिज्य तथा आपूर्तिमन्त्री र एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भइसक्नुभएको छ । भट्टले यस पटक नेपाली कांग्रेसका गोरखबहादुर विष्ट (आनन्द), नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीको सामना गर्दै हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा उहाँ नेपाली कांग्रेसका वीरबहादुर बलायरसँग पराजित हुनुभएको थियो । यस्तै कैलाली क्षेत्र नम्बर ५ मा नेकपाबाट पूर्वमन्त्री प्रेम आले चुनावी मैदानमा उत्रिनुभएको छ । २०७४ को निर्वाचनमा डोटीबाट जितेका आले नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वकको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो । कांग्रेस र एमालेले आलोपालो गरेर चुनाव जित्दै आएको यो क्षेत्रमा यस पटक ती पार्टीबाट नयाँ अनुहार उम्मेदवार छन् । नेपाली कांग्रेसले नरनारायण शाह मनु, एमालेले यज्ञराज ढुङ्गाना, रास्वपाले आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाएको छ । रानाथारू समुदायको निर्णायक भोट रहेको यो क्षेत्रमा सो समुदायबाट प्यारेलाल रानाको स्वतन्त्र उम्मेदवारी रहेको छ । २०७९ सालको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले जितेको थियो । 

विगतमा आन्तरिक विवाद र समुदाय विशेषको कारण नेपाली कांग्रेस हारेको जनाउँदै सो पार्टीका जिल्ला सचिव नृप सुनारले यस पटक विवाद नहुनु, वडा तहदेखि कांग्रेसको बलियो सङ्गठन संरचना हुनुलगायत चुनाव जित्ने आधार रहेको बताउनुभयो । यस्तै नेकपा (एमाले) का नेता एवं प्रदेश सभा सदस्य धर्मराज पाठकले एमालेको आफ्नो सङ्गठन चुस्तदुरुस्त हुनु र कुनै पनि किसिमको विवाद नरहनु एमाले उम्मेदवार जित्ने आधार रहेको बताउनुभयो ।